काठमाडौँ, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरूद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
मंगलबारका लागि सुनुवाइको पेसी तोकिएका भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा पेस गर्नुपर्ने जनाएका छन् ।
लामिछानेले निष्क्रिय भइसकेको नागरिकताका आधारमा राहदानी लिएको विषयमा महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरूद्ध मुद्दा अघि नबढाउने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।
पौडेलले लामिछाने र महान्यायाधिवक्ता कार्यालयसहित ८ जनालाई प्रतिपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिटमा निर्णय बदर गरी लामिछानेमाथि मुद्दा चलाउने उत्प्रेरणा आदेशको माग गरिएको छ ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्