काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को टेप पनि सार्वजनिक भएको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनको अर्को टेप सार्वजनिक भएको हो । दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो ।
ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ । अडियोमा पछिल्लो भागमा दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिइ आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै ढाकाकुमारले गौतमलाई फोन गरेको उक्त अडियोमा सुनिन्छ ।
“दुर्गाजीले मेरो अडियोको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो । तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर । अब यो नहुने कुरालाई बढाएर के फाइदा,” फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन् ।
तर, फोनमा बोल्ने व्यक्तिले आफू गाडीमा भएको भन्दै ‘त्यो विषयमा सल्लाह गरौँला सर, भरे कुरा गरौँला’ भनेर फोन काटेका छन् ।
सार्वजनिक अडियोको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंँलाई फोन गरेका छन् । प्रसाईंले उनलाई ढाकाकुमारको भाइ हो भनेर सोध्छन् ।
उनले हो भन्छन् ।
यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले ‘दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो’ भन्छन् । दुर्गा प्रसाईंले यसमा मैले के गर्नुपर्छ त भन्नु न भनेर सोध्छन् ।
“मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन । माग्न लउनेको पो गल्ती हो त । बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,” प्रसाईंले भनेका छन् ।
फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, “जे भए पनि दाइले बीचमा पारे क्यार । लाटो सोझो मान्छेलाई बीचमा पारे । हजुरले बुझिदिनु पर्यो । दाइले एकपटक भेट्ने भन्नुभएको छ ।”
प्रसाईं भन्छन्, “म वीरगञ्जमा छु । बेलुकी भेट्न भनिदिनु । वीरगञ्जमा लघुवित्तको कार्यक्रममा छु । लघुवित्त, बैंक र सहकारीले सके । रवि लामिछानेहरू यस्तै हो, लुट्न गएका छन् त्यहाँ । अब तपाईंले बुझिहाल्नुभयो ।”
उनले थप भनेका छन्, “मलाई एउटा कुरा चित्त नबुझेको । सांसद बनाउँदा पनि पैसा लिने र मन्त्री बनाउँदा पनि पैसा लिने । पार्टी अध्यक्षहरूको कुरा चित्त बुझेन ।”
फोनमा बोल्ने व्यक्ति भन्छन्, “अब यो त दाइहरूको कुरा भयो । म बुझ्दिनँ क्यार । मलाई त दाइले एकचोटी कुरा गर न त भन्नुभएको थियो ।”
यो अडियोसँगै ढाकाकुमारका भाइ भन्ने व्यक्तिको भिडियो पनि कपुरबोटले सार्वजनिक गरेको छ ।
आइतबारको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारसँग ७२ घन्टे स्पष्टीकरण सोधेको थियो । सोमबार राति उनले स्पष्टीकरण बुझाएका छन् ।
उनले आफ्नो स्पष्टीकरणमा अडियोमा आफ्नो आवाज नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्