काठमाडौँ, १ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमंगको उत्सव बनोस् भनी शुभकामना दिएका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उनले जोड दिए ।
“राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलका बीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्छ”, अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ । सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि अद्यावधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व उल्लेख गर्दै सन्देशमा उहाँले जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट जनताको हितमा काम गर्नुपर्ने बताए ।
आफ्नो पार्टीले कम्युनिस्ट आन्दोलनमा मूलधारको नेतृत्व गर्दै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पार्टी क्रियाशील रहेको अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरे । नयाँ वर्षको सन्दर्भमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको उनले कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्