काठमाडौँ, १ जेठ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल तेक्वान्दो संघले खेलकुदमन्त्री लिम्बूको सम्मानमा आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा उनले अधिकारका लागि सबैले एकजुट भएर लड्नुपर्ने बताउँदै सत्यका लागि आफूले सधैँ साथ दिने बताए ।
सोही कार्यक्रममा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको थियो ।
खेलकुदमन्त्रीले सिर्जनालाई एक लाख तथा प्रशिक्षक लामालाई २५ हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरे । गत २०७९ मंसिर २२ देखि २४ गतेसम्म साउदी अरबियाको रियादमा सम्पन्न भएको रियाद २०२२ वर्ल्ड पारा तेक्वान्दो ग्रान्ड प्रिस फाइनल जी १० प्रतियोगितामा विश्व वरीयतामा रहेका खेलाडीहरु पहिलो फाइटमा मेक्सिकोका खेलाडीलाई हराउँदै सेमिफाइनमा ब्राजिलका खेलाडी र फाइनलमा टर्कीका खेलाडीलाई हराउँदै सिर्जनाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
सिर्जनाले एसियाली युथ पारा खेलकुद २०२१ बहराइन र २०२२ इरानमा सम्पन्न भएको चौथो डब्लु टी प्रेसिडेन्ट्स कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । यसैगरी, सम्मानित लामाले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्