संखुवासभा, १८ माघ । पूर्वी पहाडी जिल्ला संखुवासभाको एक मात्र तुम्लिङ्गटार बिमानस्थल वरपर बाक्लो तुवाँलो लागेको कारणले पाँच देखी उडान अवरुद्ध भएको छ । उडानको लागी भिजिविलिटी नपुगेकाले उडान अवरुद्ध भएको बुद्ध एयरका कर्मचारी राजीव पोख्रेलले जानकारी दिनुभयो ।
तुम्लिङ्गटार बिमानस्थल विश्वकै होचो अरुण उपत्यकामा पर्छ । वरपरका डाँडाहरुमा चिसोले बाक्लो हुस्सु र तुवाँलो लागेपछि उडान हुन नसकेको हो ।
हवाईजहाज उडान र अवतरण हुनका लागी पाँच हजार मिटरको भिजिविलिटी खुल्ला हुन पर्ने हुन्छ भने उपत्यका वरपरका डाँडाकाँडाहरु खुल्ला हुनपर्ने पोख्रेलले बताउनुभयो ।
माघ दोश्रो साता देखी संखुवासभामा ह्वात्तै चिसो बढेको छ । चिसोसंगै भुई कुहिरो र बाक्लो तुवाँलो लागेकाले तुम्लिङ्गटारमा एक मिटर पनि राम्ररी देख्न नसकिने गरि बाक्लो तुवाँलो लागेको स्थानीयहरुको भनाई छ ।
उडान नभएपछि जहाजबाट काठमाडौ र बिराटनगर जाने यात्रुहरु अलपत्रमा परेका छन । कतिपय यात्रुहरु गाडीबाट बिराटनगर र काठमाडौ लागेका छन । कच्ची सडक धुलाम्मे जानु पर्ने भएकाले कतिपय यात्रुहरु भने जहाज नै पर्खिएर बसेका छन ।
हिड्न सक्ने नागरिकहरुको लागी गाडीको यात्रा सहज भएपनि बिरामी र असक्तहरुलाई समस्या परेको छ । बिरामीको स्वस्थ्य अवस्था झन बिग्रने सर्वसाधारणहरुको बुझाई छ ।
कहिले घाम लाग्ला र मौसम खुल्ला भनेर यात्रुहरु पर्खिएर बसेका छन । “तुम्लिङ्गटार बिमानस्थल वरपरका तुवाँलो हट्न ठूलो आकाशबाट ठूलो पानी पर्नु प-यो, हैन भने हावाबतास बेसरी चल्नु प-यो नभए महिनौ सम्म उडान अबरुद्ध हुन्छ । ‘ कर्मचारी पोख्रेलको भने ।
संखुवासभामा कार्तिक देखी नै पानी परेको छैन । पानी नपर्दा चारैतिर सुख्खा भएको छ ।
संखुवासभा र छिमेकी भोजपुर जिल्लाको आधाभन्दा धेरै भागका सर्वसाधारणहरु तुम्लिङ्गटार बिमानस्थलबाट नै आवातजावात गर्छन । उडान अबरुद्ध हुदाँ संखुवासभा आउने र यहाँबाट जाने पर्यटकहरुको समेत बिचल्ली भएको छ ।
यहाँ दैनिक बुद्ध एयर र यति एयरले उडान भर्दै आएको छ । बुद्ध एयरले हप्तामा दुई दिन आईतबार र बुधबार बिराटनगर उडान भर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्