काठमाडौं, २२ माघ । सिन्धुली उद्योग वाणिज्य संघले सिन्धुलीलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न माग गरेको छ ।
उद्योगमन्त्री सुनिलबहादुर थापालाई आज भेट गरी वाणिज्य संघका अध्यक्ष विनेश श्रेष्ठसहितको टोलीले औद्योगिक करिडोरसहित औद्योगिक क्षेत्रको विकास गर्न माग गरेको हो ।
विभिन्न राजमार्गहरु सिन्धुली हुँदै राजधानी काठमाडौंसँग जोडिएको र महत्वपूर्ण सम्भावना भएको स्थानका रुपमा सिन्धुली रहेकोले सिन्धुलीलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न माग गरिएको समाजसेवी तथा राप्रपाका नेता उज्वलविक्रम थापाले बताउनुभयो ।
सिन्धुलीबाट आएका प्रतिनिधि मण्डलसँगको भेटमा उद्योगमन्त्री थापाले सरकारले विभिन्न क्षेत्रमा औद्योगिक कोरिडोर र क्षेत्रको रुपमा विकास गर्न चाहेको भन्दै सिन्धुलीमा पनि औद्योगिक क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
औद्योगिक क्षेत्रको रुपमा विकास गर्नका लागि जग्गा आवश्यक पर्ने भएको त्यसबारे स्थानीय तहसँग परामर्श गर्न र आवश्यक जग्गा मिलाउन समेत मन्त्री थापाले सुझाव दिनुभयो ।
जिल्ला स्तरमा राजनीतिक दल र स्थानीय तहसँग परामर्श गरेर थप प्रक्रिया अघि बढाउन मन्त्रालयसँग समन्वय गर्ने वाणिज्य संघका अध्यक्ष विनेश श्रेष्ठले बताउनुभयो ।
सिन्धुलीलाई औद्योगिक करिडोर वा औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै सिन्धुलीलाई समृद्ध बनाउनका लागि समाजसेवी तथा राप्रपा नेता थापाले लामो समयदेखि पहल गर्दै आउनुभएको थियो ।
प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठसहित, समाजसेवी थापा, महासचिव अर्जुन श्रेष्ठ, राप्रपाका नेता अशोक राजभण्डारी, वरिष्ठ पत्रकार लीलानाथ घिमिरे, सञ्जय दाहाल, डण्ड गुरुङ, सितल कोइराला, तरुण दल सिन्धुलीका अध्यक्ष विजय कुँबर लगायत थिए ।
प्रतिक्रिया दिनुहोस्