काठमाडौँ १६ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले नेपालसँग भैरहवा र पोखराका लागि पनि सिधा उडानको अनुमति मगा गरेको छ । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको ‘भुटान सिभिल एभिएसन अथोरिटी’ ले नेपालका दुई सहरमा सिधा उडान अनुमति दिन शुक्रबार नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरेको छ ।
‘भुटानले आफ्ना दुई अन्तर्राष्ट्रिय वायुसेवाबाट पोखरा र भैरहवामा सिधा व्यावसायिक उडानका लागि अनुमति मागेको छ,’ प्राधिकरण स्रोत का अनुसार ‘भुटानी वायुसेवाले नेपालमा दशककौंदेखि उडान भर्दै आइरहेकाले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिन कुनै प्राविधिक समस्या छैन । भुटान सरकारले तोकेका दुई वायुसेवालाई अनुमति दिन प्रक्रिया चाँडै अघि बढाउने पक्षमा छौं ।’
नेपालका नयाँ सहरमा सिधा उडान हुँदा ठूलो संख्यामा बौद्धमार्गी पर्यटक लाभान्वित हुन सक्ने भुटानको आकलन छ । ‘चाँडो अनुमति दिलाउन र सहजीकरण गर्न भुटानको सम्बन्धित मन्त्रालयले भनेको छ,’ महानिर्देशक सचिवालय स्रोतले भन्यो, ‘भुटानले यी दुई रुटमा हुने अन्तर्राष्ट्रिय उडानले नेपाली र भुटानीबाहेक अरू मुलुकका पर्यटकका लागि पनि सहज हुने पत्रमा उल्लेख गरेको छ ।’
दुई देशबीच एक दशकअघि वार्षिक २ लाख १८ हजार सिटका लागि हवाई सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भुटानका दुई अन्तर्राष्ट्रियसहित ३० वटा वायुसेवाले उडान भर्दै आएका छन् ।
सञ्चालनमा आएको ७ महिना बित्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै पनि विदेशी वायुसेवाले नियमित उडानको अनुमति लिइसकेका छैनन् । पूर्वी इलामको आकाश हुँदै गल्फ–३४८ रुटबाट जहाजले भुटान ओहोदोहार गर्न सक्छन् । यो रुट काठमाडौंको आकाश हुँदै पोखरासँग जोडिएको छ । त्यसैगरी भैरहवा–भुटान (पारो) उडानका लागि पनि हवाई रुटको समस्या छैन ।
प्रतिक्रिया दिनुहोस्