काठमाडौ ४ माघ । ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गाका पहाडी भेगमा हल्का वर्षा भएको छ ।आज पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभावले पानी परेको र अझै एक–दुई दिन हल्का वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए।यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ ।
महाशाखाका अनुसार दोलखाको कालिञ्चोक, सोलुुखुम्बुको लुक्ला, ताप्लेजुङलगायतका उच्च पहाडी भेगसँगै हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण देशभर चिसो बढेको छ ।आज काठमाण्डौ उपत्यकाको तापक्रम न्यूनतम ५ दशमलव ६ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्रीसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।यस्तै, जुम्ला, जोमसोम, डडेल्धुरा, जिरी लगायत ठाउँको न्यूनतम तापक्रम घटेको छ । \
आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ९ डिग्री, जोमसोमको माइनस चार दशमलव छ डिग्री, डडेल्धुराको ३ दशमलव ५, जिरीको न्यूनतम तापक्रम शून्य दशमलव २ डिग्रीमा झरेको छ ।आज पनि देशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन सक्ने मौसमविद् लामिछानेले बताउनु भयो । यस्तै, देशको तराई मधेसका जिल्लामा आज पनि बाक्लो हुस्सु कुहिरो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्