काठमाडौं २२ फागुन । माल्दिभ्सले चीनसँग सैन्य सम्झौता गरेको छ। माल्दिभ्सबाट भारतीय सैनिक हट्दैगर्दा सो मुलुकले यस्तो कदम चालेको हो।
माल्दिभ्सका रक्षामन्त्री मोहम्मद हसन मोमुन र चिनियाँ सेनाका मेजर जनरल चाङ पाओचुनले सोमबार सो सम्झौतामा हस्ताक्षर गरेको माल्दिभ्सको रक्षा मन्त्रालयले जनाएको छ।
सम्झौताका विवरणहरु सार्वजनिक गरिएको छैन। तर, सो सम्झौता राष्ट्रपति मोहमद मुइजुको चीन भ्रमणको बेला भएको सम्बन्ध स्तरोन्नतिअनुरुप नै गरिएको बताइएको छ।
जनवरीमा भएको मुइजुको पाँच दिने भ्रमणमा दुई देशले सम्बन्धलाई बृहत् रणनीतिक सहकार्यमूलक साझेदारीमा स्तरोन्नति गरेका थिए।
चीनले सोमबार नै मालदिभ्सलाई १२ वटा एम्बुलेन्स पनि हस्तान्तरण गरेको छ।
राष्ट्रपति मुइजुले निर्वाचित हुनेबित्तिकै भारतले दिएको विमान चलाउन मालदिभ्समा बसेका केही दर्जन सैनिकलाई हटाउन माग गरेका थिए।
भारत त्यसमा सहमत भएको छ। उसले सैनिकहरुलाई फिर्ता गर्न सो स्थानमा प्राविधिक टोली खटाएको छ।
मुइजुले मे १० पछि मालदिभ्समा भारतीय सैनिक नरहने वाचा मतदातासामु गरेका छन्।
प्रतिक्रिया दिनुहोस्