काठमाडौं १४ चैत । पाकिस्तानमा मंगलबार भएको एक आत्मघाती बम आक्रमणमा पाँच चिनियाँ कामदार र एक पाकिस्तानी सवारी चालकको मृत्यु भएको छ।
इस्लामावादबाट पाकिस्तानको सबैभन्दा ठूलो जलविद्युत् परियोजना दासु ड्यामतर्फ गइरहेका कामदारहरुको लस्करमा आत्मघाती आक्रमणकारीले सवारी ठोक्काएका थिए।
सो जलविद्युत खैबर पख्तुनुवा प्रान्तमा छ।
पछिल्लो समय चीनको बीरआरआई अन्तर्गतका परियोजनाहरुमा आतंकवादी हमला बढिरहेको छ। विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।
तीन वर्षअघि सोही परियोजनाका कामदारहरुमाथि आक्रमण हुँदा ९ चिनियाँसहित १३ जनाको ज्यान गएको थियो।
चीनले आक्रमणको भर्त्सना गरेको छ। उसले चिनियाँ नागरिक, संस्था र परियोजना सुरक्षाको प्रभावकारी उपाय अपनाउन पनि पाकिस्तानलाई आग्रह गरेको छ।
पाकिस्तानी प्रधानमन्त्ती सहबाज सरिफले मंगलबार नै चिनियाँ दूतावास पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
विदेशमन्त्री इशक दारले पाकिस्तान–चीन मैत्रीका दुस्मनले सो आक्रमण गराएको भन्दै तिनलाई हराएरै छाड्ने वाचा गरेका छन्।
बेइजिङले चाइना–पाकिस्तान इकोनोमिक करिडोरमा अर्बौं डलर लगानी गरिसकेको छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्