काठमाडौं ९ जेठ । मिडिया संचालकहरुको साझा संगठन नेपाल मिडिया सोसाइटीले कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गरे ।
सिरोहियालाई चाँडोभन्दा चाँडो रिहा गर्न माग गर्दै कँडेलले भने, ‘रिहाइ नभएसम्म उहाँमाथिको गिरफ्तारीका विरुद्ध निरन्तर संघर्षरत छौं र मिडिया सोसाइटी संघर्षरत रहनेछ ।’
अध्यक्ष शुभशंकर कँडेलले कान्तिपुर पब्लिकेशन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई आतंककारी शैलीमा पक्राउ गर्नु सामान्य नभएको बताएका छन् ।
उनले गृह प्रशासनको मंगलबारको हर्कतले सरकार अधिनायकवाद र निरंकुशताको बाटो तर्फ लागेको बताएका छन् । लोकतान्त्रिक पद्धति भएको देशमा मिडिया, बार एसोशिएसन र मानवअधिकार संगठनलाई नागरिक अधिकार र अभिव्यक्तिको वारेस बोकेकोले सुरक्षित क्षेत्र मानिने बताउँदै मंगलबार काम गर्दागर्दै कार्यकक्षबाट पक्राउ गर्नु निन्दीय भएको बताए । यसको विरुद्ध सबै सञ्चार क्षेत्र एक भएर विरोधमा लाग्नु पर्ने बताए ।
उनले गल्ती गरेको भए कानुनबाट उन्मुक्ति कसैले पाउन नहुने र सिरोहियालाई पनि गल्ती गरेको भए त्यो छुट नरहेको बताए । तर गृहमन्त्री लामिछानेले उनले नियतवश सिरोहियालाई पक्राउ गरेको बताए । उनले भने, ‘कुनै पनि उजुरीको छानबिन गर्ने तरिका हुन्छ । उजुरी परेपछि अनुसन्धानको लागि नबोलाइ एकैचोटी सञ्चार गृहमा कार्यरत अवस्थामा पक्राउ गर्न मिल्छ?’
उनले गृहमन्त्री लामिछाने आफ्नोबारेमा समाचार आउन थालेपछि तर्सिएको र मिडियालाई आक्रमण गरेर तर्साउन खोजेको बताए । तर यसरी तर्साउँदैमा मिडिया नतर्सिने उनले उल्लेख गरे । उनले भने, ‘पहिला नागरिकताको विषयमा लेखेर मेरो जागिर (गृहमन्त्रीको पद) खाइदियौं । फेरि पनि खान खोज्ने ? भनेर गृहमन्त्रीले आक्रोश पोखेका छन् ।’
उनले हिजोको गिरफ्तारीले मिडियामाथि सेन्सरसीपको अध्यास सुरु भएको आभास भएको बताए । उनले भने, ‘यो अहिले सरकार स्थापित कानुनी मूल्य मान्यताको बद्ख्याईं गर्नेतिर अग्रसर छ ।’
उनले हिजोको घटनाको प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लिनुपर्ने बताए । सरकार मिडियाको मुख बन्द गराउँछु भनेर हिँडेको उनको भनाइ छ । मिडिया प्रति अहिले भ्रम फैलाइएको बताउँदै अपराध गरेको ठहर भएमा मिडियाका मानिसलाई पनि जे सजाय तोकेको हो त्यही अनुसार कारबाही गर्न आग्रह गरे । उनले प्रष्ट्याए, ‘धेरैलाई लागेको छ । सिरोहियालाई पक्राउ गर्नै नपाउने? नहुने? पाइन्छ । तर पक्राउ गर्ने र छानबिन गर्ने प्रक्रिाय हुन्छ । यो नागरिकताको केसमा पक्राउ पुर्जी नै जारी गरेर लैजानुपर्ने थिए । यसमा भ्रम नहोस् । हामीलाई पनि प्रश्न उठाउनुहोस् । प्रचलित कानुन अनुसार कारबाही गरेहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्