चितवनकी ३८ वर्षीया विन्दु पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेसन गर्नुपर्छ भनेपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आएका थिए । रिपोर्ट हेरेपछि डा. प्रविण नेपालले भ्याङ रहेको भन्दै अपरेशन गर्नुपर्ने सुझाव दिए । विन्दु बिहीबार काठमाण्डौं आइन् र विमानस्थलबाट सिधै अपस्ताल पुगिन् । आफैं हिडेर अस्पताल गएकी विन्दुलाई डा. नेपालले अपरेशन गर्नुपर्ने बताए । ‘अहिले त हिंडेरै आएको छ ।
तत्काल अपरेशन नगर्दा हुन्छ होला भन्यौ, विन्दुका श्रीमान किशोर पौडेलले भने, ‘डाक्टरले तत्काल गर्नुपर्छ पछि समस्या हुन्छ भनेर डर देखाए ।’ उसो त अपरेशन गर्नुअघि परिवारका सदस्यले फेरि एमआरआई गरौं नभनेका पनि होइन । तर, डा. नेपालले पटक–पटक एमआरआई नगरौं आरसस्टोपी गरेर हेर्छु भने । परीक्षणपछि विरामी भर्ना भइनन्, घर नै गइन् । हिजो शुक्रबार विहान करीव साढे ९ बजेतिर अस्पताल भर्ना भइन् र अपरेशन गरियो ।
उनलाई अपरेशन कक्षमा झण्डै चार घण्टा राखिएको आफन्त बताउँछन् । अपरेशन लगतै भेट्न दिइएन, जुन स्वभाविक हो । तर, कस्तो छ भन्दा डाक्टरले राम्रो भएको सुनाए । जब आफन्तले भेट्न पाए, विरामीले अपरेशन गरेको खुट्टा देखाउँदा परिवारका सदस्यहरु छाँगाबाट खसेझै भए । नहुन पनि किन ? देब्रे घुँडाको लिगेमन्ट च्यातिएको भनेर अपरेशन गर्न पठाएको डाक्टरले त दाहिनेमा चिरेछन् ।
त्यसबेलासम्म अस्पतालले केही भनेको थिएन । पीडित परिवार डाक्टर प्रविणलाई भेट्न पुगे । उनी भेटिएनन् । लगतै उनीहरु कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहकहाँ पुगे र उपचारका क्रममा भएको लापर्वाही सुनाए । विरामीका आफन्तका अनुसार शुरुमा त चिकित्सकले गल्ती स्वीकार गर्न मानेनन् । डा. प्रविण नेपालको तर्क थियो, अपरेशन रुममा गएर हेर्दा देब्रेभन्दा दाहिनेमा धेरै समस्या देखें, त्यसैले त्यसकै अपरेशन गरें ।’ तर, विरामीका आफन्तले यो मान्ने कुरा थिएन । दाहिने खुट्टाको अपरेशन गर्नु पूर्व आफूलाई जानकारी नदिएको मात्र होइन, कुन परीक्षणका आधारमा अपरेशन गर्नुभयो भन्ने प्रश्न गरे । छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक सिंहले पनि डाक्टर नेपालको तर्कसँग सहमत भएनन् ।
तर, अन्तिममा डा. नेपालले देब्रे सोचेर अपरेशन गरेको दाहिने परेछ भने भन्दै गल्ती स्वीकार गरेका छन् । चौधरी अस्पताल सञ्चालक चौधरी ग्रुपको अस्पताल प्रशासनले डाक्टरको लापर्वाही लुकाउन हतपत पीडितहरुसँग चारबुंदे सहमति गरेको छ । सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानवीय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गएको उल्लेख गरेका छन् । सहमतिको बुंदामा विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने जनाइएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।
प्रतिक्रिया दिनुहोस्