चितवन, १५ फागुन । विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारी ऐन, नियम र मापदण्ड ल्याउने, ऐन संशोधनका लागि केन्द्र र प्रदेश तथा सहकारी विकास बोर्ड र सहकारी महासंघलाई ध्यानाकर्षण गराउने, सहकारीसम्बन्धी नीति, कानूनी व्यवस्था र कार्यक्रम वनाउन सहकारी अभियानसँग परामर्श गर्नेलगायत प्रतिबद्धता सार्वजनिक गरिएको हो ।
जिल्लाका सबै स्थानीय तहमा सहकारी प्रवद्र्धनका लागि प्रभावकारी शाखा स्थापना गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा सहकारीको विकास, सहकारी शिक्षा, क्षमता विकास, प्रवद्र्धनजस्ता क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
प्रदेश तथा स्थानीय तहले सहकारीको संख्यात्मक वृद्धिभन्दा गुणात्मक विकासलाई प्राथमिकता दिने, तुलनात्मक लाभका क्षेत्रमा सहकारी व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, सहकारी व्यवसाय स्थापना गर्न प्रोत्साहन गर्ने र ठूला लगानीका सहकारी उद्योग व्यवसाय स्थापना गर्ने गरी साझा कार्यक्रम वनाउने प्रतिबद्धतामा समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्