काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा आज सोमबार ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सवा तीन बजे नेपाल आउन लागेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा जम्मा १० घण्टा बिताउनेछन् र यसबीचमा राजनीतिक भेटवार्ता पनि गर्नेछन् । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत कार्यक्रम रहेको छ ।
विमानस्थलबाट उनी सीधै आफू बस्ने होटल याक एण्ड यतीमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुग्नेछन् जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले साँझ साढे ५ बजे ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको सहभागीता रहनेछ ।
यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आज सैनिकमञ्चमा दिन लागिएको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए । त्यसपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी पुनः होटल याक एण्ड यतीमा फर्किने छन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही होटलमा आयोजना गरेको रात्रीभोज सहभागी हुनेछन् । सोही होटलमा ओली र अब्बासीबीच भेटवार्तासमेत हुनेछ । भेटमा अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने र द्विपक्षीय हितका विषयमा छलफल हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्री अब्बासीले नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट नयाँ सरकार बनेको र केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाइ दिने उल्लेख छ । विज्ञप्तिअनुसार भेटवार्तामा आगामी सार्क सम्मेलन आयोजनाका विषयमा छलफल हुने उल्लेख छ । २०७१ मंसिरमा नेपालमा सार्क सम्मेलन आयोजना भएपछि अर्को सम्मेलन पाकिस्तानमा आयोजना गर्ने निर्णय भएको थियो । तर, भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सम्मेनल अन्तिम समयमा स्थगित भएको थियो । पाकिस्तान आगामी सार्क सम्मेलन आयोजक राष्ट्र भएकाले त्यसलाई आयोजना गर्नका लागि नेपालको सहयोगको अपेक्षा अब्बासीबाट हुने अनुमान गरिएको छ । साथै द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, रक्षालगायतका विषयमा पनि ओलीसँगको भेटमा छलफल हुने पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले भोली मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनी स्वदेश फर्किनेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्री बाहेक अन्य नेताहरुसँग अब्बासीको भेटवार्ता तय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्