काठमाडौं, २२ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई गतिशिल रुपमा परिमार्जन गर्दै लैजाने बताउनुभएको छ ।
संघीय संसदको बैठकमा बोल्दै उहाँले संविधान अपरिवर्तनीय दस्तावेज नभएको भन्दै यसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताउनुभयो । अब हिजोको जस्तो आन्दोलन र हिंसाले नेपालको विकास सम्भव नभएको भन्दै सबै दल र नागरिक मिलेर विकासमा लाग्नुपर्ने उहाँले जिकीर गर्नुभयो ।
अब पनि आन्दोलन र हिंसाको बाटो राजनीतिक दलले रोज्ने हो भने नागरिकको विश्वासमा कुठरघात हुने भन्दै उहाँले सबै दललाई बिना संकोच विकास र समृद्धिको लडाइमा सहभागी हुन आग्रह गर्नुभयो ।
अहिले नेपालको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको भन्दै उहाँले आर्थतन्त्रलाई सबल र सकारात्मक बनाउन सत्तापक्ष र प्रतिपक्ष सबै दल एक ठाउँमा उभिएर विकास कार्यमा सहभागी हुनुपर्ने बताउनुभयो । नेपालको विकास गर्नका लागि सत्ता पक्ष र प्रतिपक्ष एकतावद्ध हुन जरुरी रहेको उहाँको तर्क छ ।
नयाँ नेपाल बनाउने सुर्वण अवसर यही सरकारलाई रहेको भन्दै उहाँले भ्रष्टचारको अन्त्य गर्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो । संस्थागत रुपमा रहेको भ्रष्टचार अन्त्यका लागि बदमासी गर्नेलाई दण्ड र राष्ट्रको पक्षमा काम गर्नेलाई पुरस्कारको व्यवस्था गरेर भ्रष्टचारको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । प्रचण्डले नेपाली नागरिकको चाहना सुशासन, स्थायित्व र विकास रहेको भन्दै वाम गठबन्धनले गरेका यी प्रतिवद्धता पूरा गर्नुपर्ने बताउनुभयो । नेपालको अर्थतन्त्र रेमिट्यान्सबाट चलेको भन्दै उहाँले यसको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
विदेशमा रहेका लाखौं नेपालीलाई रोजगारीको अवसर सिर्जना नगरेसम्म दिन दिनै विदेशबाट शव आउने प्रवृतिको अन्त्य नहुने उहाँको भनाई थियो । नेपाल चीन र भारत दुवै छिमेकी देश परस्त नभएको भन्दै नेपाल नेपाली नागरिक परस्त भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्