वाशिंगटन डिसी: अर्बपति इलन मस्कको डोजका प्रतिनिधिहरू बुधबार विभिन्न संघीय एजेन्सीहरूमा हस्तक्षेप गर्ने क्रममा अटलान्टा स्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को मुख्यालयमा एक टोली पठाएको थियो । उनीहरुले श्रम विभागका अधिकारीहरूसँग बैठक गरे । उनीहरूले संवेदनशील डेटामा पहुँचका कोशिश गरिरहेका थिए । यो कदम स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) अन्तर्गत संवेदनशील स्वास्थ्य भुक्तानी प्रणालीमा डोज टोलीले पहुँच प्राप्त गरेपछि बाहरि आएको हो ।

बाहिर विरोध गर्नेहरू वाशिङ्टन डी.सी. स्थित श्रम विभागअगाडि इलन मस्कको Department of Government Efficiency. (डोज) विरुद्ध प्रदर्शन गरिरहेका छन्। (Michael A. McCoy for The Washington Post)
संघीय कर्मचारीहरू बिहीबारसम्मको समयसीमाको सामना गर्दै सम्भावित जागिर कटौतीको त्रासमा रहेका छन्। कम्तीमा ४०,००० कर्मचारीले स्वेच्छिक अवकाश प्याकेज लिइसकेका छन्। यसैबीच, डोजका कर्मचारीहरू ती एजेन्सीहरूसँग बैठक गरिरहेका छन्, जसमा व्यापक बजेट कटौतीको सम्भावना छ। यस परियोजनाले पूरै कार्यक्रमहरू बन्द गराइदिएको छ र मस्कको टोलीलाई निजी डेटा पहुँच गर्न व्यापक अधिकार दिएको छ। दुई हप्ताभित्रै, ट्रम्पका ठूला वित्तीय सहयोगी रहेका मस्क—जो अझै आफ्ना निजी कम्पनीहरू चलाइरहेका छन्—ले विभिन्न क्षेत्रहरूमा खर्च कटौतीको खोजी गर्दै केही कार्यान्वयन गरिसकेका छन्। उनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी ) लाई प्रभावकारी रूपमा बन्द गराइदिएका छन् र अन्य विभागहरू पनि यही सूचीमा पर्न सक्ने संकेत गरेका छन्।
डोजको तीव्र र व्यापक गतिविधिले संघीय प्रशासनमा आश्चर्य पैदा गरेको छ र कानुनी चिन्ता बढाएको छ। बुधबार, विभिन्न श्रमिक संघहरूले डोज टोलीलाई श्रम विभागबाट टाढा राख्न अदालतमा प्रतिबन्ध आदेशको माग गरेका छन्। उनीहरुले यो गतिविधि अवैध भएको र “पहिले नै विनाशकारी प्रभाव पारिसकेको छ“ भनेका छन् । सोही दिन दिउँसो, डोज का कर्मचारीहरूले श्रम विभागका अधिकारीहरूसँग भर्चुअल बैठक गरे, जसको केही घण्टाअघि विभागको मुख्यालय अगाडि वाशिङ्टनमा सयौं प्रदर्शनकारीहरू भेला भएका थिए।
डोज द्वारा भइरहेको सरकारी पुनर्संरचनालाई लिएर आलोचकहरू संघर्षरत छन्, तर कांग्रेसको नियन्त्रणमा रहेका रिपब्लिकनहरूले यसको कायैको खुलेर प्रशंसा गर्दै आएका छन्। तिनले डोज का गतिविधिबारे थप जानकारी लिने कुनै पहल गरेका छैनन्। हाउस ओभरसाइट र गभर्नमेन्ट रिफर्म कमिटीमा रहेका रिपब्लिकनहरूले डेमोक्र्याटहरूको इलन मस्कलाई प्रत्यक्ष छलफल लागि बोलाउने प्रस्तावलाई रोकिदिए। डेमोक्र्याटहरूले निर्वाचित नभएको एक अर्बपतिले संघीय प्रशासनलाई आफ्नो इच्छाअनुसार विघटन गर्न नपाउने भन्दै विरोध गरेका थिए, तर रिपब्लिकन नेताहरूले यसलाई अस्वीकार गरे।
“यो खुल्लमखुल्ला सत्ता कब्जा गर्ने प्रयास हो। ट्रम्पका सल्लाहकारहरूले उनलाई जति सक्दो असंवैधानिक कदम चाल्न उक्साएका छन्, जसबाट केही वा सबै निर्णयहरू लागू हुन सकून् भन्ने आशा गरिएको छ,“ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका लागि ह्वाइट हाउसका वकिल रहेका तर अहिले आलोचक बनेका टाइ कोबले भने ।
ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लिभिटले भने मस्कको कार्यको बचाउ गर्दै भनिन्, “ट्रम्पले देशभर चुनावी अभियान चलाउँदा इलन मस्कलाई डोज को नेतृत्व गर्ने वाचा गरेका थिए। दुवैले कुशल टोलीसहित संघीय सरकारको खर्चको लेखाजोखा गरेर करदाताहरूका लागि जवाफदेही बनाउने उद्देश्य राखेका थिए। अहिले त्यही भइरहेको छ।“
एक ह्वाइट हाउस अधिकारीले भने अनुसार डोज को नेतृत्व संघीय कानुनअनुसार पूर्ण रूपमा सुरक्षा क्लियरेन्स लिएर सम्बन्धित एजेन्सीका कर्मचारीका रूपमा सरकारी पुनर्संरचना गर्दैछ।

हालसालै डोज का अधिकारीहरूले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र मेडिकेयर तथा मेडिकेड सेवा केन्द्र (सीएमएस) का कार्यालयहरूमा भ्रमण गरेका छन्। पाँच जना जानकार स्रोतहरूका अनुसार डोज अधिकारीहरूले स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) अन्तर्गत रहेका भुक्तानी तथा ठेक्का व्यवस्थापन प्रणालीमा पहुँच खोजिरहेका छन्। यी प्रणालीहरूले स्वास्थ्य सेवा प्रदायकहरूलाई वार्षिक रूपमा सयौं अर्ब डलरको भुक्तानी नियन्त्रण गर्छन्, र डोज टोलीले ती प्रणालीहरूमध्ये केहीमा पहुँच पाइसकेको देखिन्छ।
द वाल स्ट्रिट जर्नलले पहिले नै सीएमएस को अनुदान व्यवस्थापन प्रणालीमा डोज टोलीलाई पहुँच दिइएको जानकारी दिएको थियो।
बुधबार दिउँसो एक्स(ट्विटर) मा पोस्ट गर्दै, मस्कले मेडिकेयरमा “ठूलो मात्रामा वित्तीय घोटाला भइरहेको“ दाबी गरे, तर कुनै प्रमाण वा विस्तृत विवरण दिएनन्।
एचएचएस प्रवक्ता एन्ड्रयू निक्सनले इमेलमार्फत जानकारी दिँदै भने, “सीएमएस मा नीति र सञ्चालनमा केन्द्रित वरिष्ठ अधिकारीहरू डोज सँग सहकार्य गर्दैछन्। ट्रम्प प्रशासनको लक्ष्यअनुसार स्रोतहरूको अधिक प्रभावकारी र कुशल प्रयोगका लागि हामी विचारशील दृष्टिकोण अपनाइरहेका छौँ।“ डोज का प्रवक्ताले भने यसबारेमा तत्काल प्रतिक्रिया दिएनन्।
बुधबार, मस्कको टोलीले श्रम विभागसँग संलग्न हुनका लागि सम्पर्क गर्यो। वरिष्ठ विभागका नेताहरूले संवेदनशील डाटा ह्यान्डल गर्ने कर्मचारीहरूलाई भनेका छन्ः तिनीहरूले आउँदो हप्ता डोज सँग काम सुरु गर्नेछन्, र बुधबारको कार्यालय बैठकबाट यसको सुरुआत गर्नेछन्, एक एजेन्सी कर्मचारीका अनुसार जसले आन्तरिक मामिलाहरूको बारेमा चर्चा गर्नको लागि नाम बताउन चाहेन्न् । डोज का कार्यहरूले टोलीका सामान्य जिम्मेवारीहरूलाई अधीनमा राख्ने कर्मचारीले बताए।
तर वरिष्ठ नेतृत्वले बुधबारको बैठकलाई व्यक्तिगतबाट भर्चुअलमा सारिदिए, जब श्रमिक सङ्घहरूले एएफएल–सीआइओ सहित डोज को विरोधमा श्रम विभाग अगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
यो एजेन्सी बेरोजगारी दाबी, स्वास्थ्य बीमा योजनाहरू, अक्षमता बीमा, कार्यस्थल स्वास्थ्य र सुरक्षा अनुसन्धान, मजदुरी चोरी, र बाल श्रमसँग सम्बन्धित संवेदनशील डाटाको ठूलो मात्रामा व्यवस्थापन गर्दछ। बुधबार डोज का अधिकारीहरूले श्रम विभागका कुन भाग र डाटा पहुँच गर्न चाहन्थे भन्ने स्पष्ट थिएन ।
सयौं श्रमिक सङ्घका कार्यकर्ता बुधबार अपराह्न श्रम विभागको मुख्यालय बाहिर जम्मा भए र “कर्मचारी डाटाबाट हात हटाऊ“ लेखिएको प्लाकार्डसहित “इलन मस्क गो“ जस्ता नाराहरू लगाएका थिए ।
”यसले सिधै श्रमिकहरूलाई प्रभावित गर्दछ,“ देशको सबैभन्दा ठूलो श्रमिक सङ्घहरूको महासंघ एएफएल–सीआइआ की अध्यक्ष लिज शूलरले र्यालीकै क्रममा द वासिङ्टन पोस्टलाई भनिन्। “हामी यस कुरा सुनिश्चित गर्न चाहन्छौं कि हामीलाई थाहा छः तिनीहरूले कुन डाटामा पहुँच प्राप्त गर्दैछन्।“
डेविड क्यासर्ली, जो श्रम विभागका कर्मचारी हुन् र बुधबार विभागको कार्यालय बाहिर विरोधमा सामेल थिए, उनले भने, “यी मानिसहरूले श्रमिकसँगको कुनै अनुभव नभएका र हामी के गर्दैछौं भन्ने थाहा नभएका व्यक्तिहरूलाई आएको र अनियमित कटौती गर्न दिनुले हामीलाई आक्रोशित बनाएको छ ।“
मस्कको टोलीले संघीय कर्मचारीहरूको खरिद प्रस्तावमा महत्वपूर्ण भूमिका खेलेको छ, जुन ट्रम्प प्रशासनको सरकारलाई ठूलो मात्रामा संकुचन गर्ने प्रयासको हिस्सा हो। यो प्रस्ताव बिहीबार समाप्त हुनेछ र कर्मचारीहरूलाई ३० सेप्टेम्बरसम्म तलबसहित राजीनामा दिन अनुमति दिनेछ। ह्वाइट हाउसका अनुसार संघीय सरकारका २.३ मिलियन नागरिक कर्मचारीहरूसँग यो प्रस्ताव खुला छ, र सामान्य सेवाका प्रशासनिक अधिकारीले यस हप्ता बताएका छन्ः सामूहिक रूपमा बर्खास्तगी पनि हुन सक्छ। बुधबार राति सम्म ४०,००० संघीय कर्मचारीहरूले खरिद प्रस्ताव स्वीकार गरेका थिए।
स्वास्थ्य एजेन्सीहरूमा डोज का प्रतिनिधिहरूसँगको सम्पर्कले यस संस्थाका अधिकारीहरूलाई संघीय सरकारका विभिन्न एजेन्सीहरूमा घोटाला र अपव्ययको खोजी गर्ने प्रक्रिया शुरू गरिएको देखाउँछ।
स्वास्थ्य विभागले लगभग २ ट्रिलियन वार्षिक खर्च गर्दछ, जसमा अधिकांश खर्च मेडिकेयर र मेडिकेड जस्ता स्वास्थ्य बीमा कार्यक्रमहरूमा जान्छ, जसलाई कागजी रिपोर्टहरू र निगरानी गर्ने कानून निर्माता र अनुगमनकर्ताहरूले अपव्ययको केन्द्रको रूपमा लिन्छन्। मस्क र उनको डोजका प्रयासका पूर्व साझेदार विवेक रामस्वामीले सार्वजनिक रूपमा एचएचएस को खर्चमा कडाइ गर्ने बारेमा बताउँदै आएका छन् । यसको उद्देश्य कम्तिमा १ ट्रिलियन संघीय खर्च घटाउनु हो।
मेडिकेयर खर्चमा राजनीतिक प्रतिक्रिया आउने खतरा अघिका प्रयासहरूले ठूलो मात्रामा असहमति र आलोचना खेपेका छन्, जसमा स्वास्थ्य सेवा प्रदायक र बिरामी समूहहरूले यो सेवा र अन्य सेवाहरूको वितरणमा असर पर्ने चेतावनी दिएका थिए।
अन्ततः, शुक्रबार अर्थमन्त्री स्कट बेसन्टले डोज का एक सहायकलाई एक महत्वपूर्ण भुक्तानी प्रणालीमा पहुँच दिने निर्णय गरेका थिए, जसले वार्षिक रूपमा ट्रिलियन डलर वितरण गर्दछ। बेसन्टले भने –पहुँच “पढ्न मात्र“ प्रदान गरिएको थियो र डोज सहायकलाई ट्रेजरी अधिकारीको रूपमा नियुक्त गरिएको थियो। मस्कका सहयोगीहरूलाई अन्य प्रमुख एजेन्सीहरू जस्तै कार्यालय प्रशासन र कर्मचारी व्यवस्थापनमा पनि प्रमुख भूमिकामा राखिएको छ।
यी प्रयासहरूले केही सरकारी कर्मचारीहरूमा चिन्ता उत्पन्न गरेको छ, । किनकि मस्कको टोली परम्परागत सुरक्षात्मक उपायहरू छलेर काम गरिरहेको आशंका गरिएको छ। मस्क र उनका सहयोगी, जसमा ट्रम्प पनि समावेश छन्, खर्चको अपव्यय रोक्न यसो गर्नु आवश्यक रहेको तर्क गर्दै आएका छन्।
“निष्पक्ष विशेषज्ञहरूले लामो समयदेखि मेडिकेयर र मेडिकेड खर्चको १० प्रतिशत भन्दा बढी अनुपयुक्त रूपमा खर्च हुने विश्वास गरेका छन्। वरिष्ठ नागरिक र जोखिममा रहेका समुदायहरूको स्वास्थ्य सेवाका लागि बजेट पुनःनिर्देशन गर्न यी अनुपयुक्त भुक्तानीहरू पहिचान र उन्मूलन गर्नु अत्यावश्यक छ,“ फाउन्डेसन फर रिसर्च अन इक्क्वल अपच्र्युनिटी का संस्थापक अविक रोयले भने।
सरकारी उत्तरदायित्व कार्यालय (जीएओ) जो एक निस्पक्ष निगरानी संस्था हो, यसले मेडिकेयर र मेडिकेडलाई संघीय सरकारका अनुपयुक्त भुक्तानीहरूको ४० प्रतिशत भन्दा बढीको लागि जिम्मेवार देखाएको छ। “मेडिकेयर र मेडिकेड दुबै भुक्तानी त्रुटिहरूको जोखिममा छन्— सन् २०२३ मा मात्र १०० अर्बभन्दा बढी,“ जीएओले अप्रिल २०२४ मा रिपोर्ट गरेको थियो।
डोज का अधिकारीहरूले संघीय प्रणालीहरू जस्तै यूनिफाइड फाइनान्सियल म्यानेजमेन्ट सिस्टम (युएफएमएस) र हेल्थकेयर इन्टिग्रेटेड जेनरल लेजर एकाउन्टिङ सिस्टम (एचआइजीएलएएस) मा पहुँच मागेका छन्, उनीहरूको अनुरोधबारे जानकारी भएका व्यक्तिहरूले बताए ।
एचआइजीएलएएस प्रणाली, जुन अत्यधिक नियन्त्रणमा राखिएको छ, मेडिकेयर, मेडिकेड र अफोर्डेबल केयर एक्ट जस्ता कार्यक्रमहरूसँग वित्तीय सम्बन्ध राख्ने अस्पतालहरू, चिकित्सकहरू र अन्य संस्थाहरूको संवेदनशील वित्तीय जानकारी समेट्छ। यो विशाल डेटाबेस अमेरिकी स्वास्थ्य सेवाको लगभग प्रत्येक क्षेत्रमा जोडिएको छ।
हालका र पूर्व संघीय अधिकारीहरूले भनेका छन् – यी प्रणालीहरूमा पहुँच राख्ने कर्मचारीहरूलाई एचआइपीएए हेल्थ इन्सुरेन्स् प्रटाविलीटी एण्ड एकाउन्टाविलीटी एक्ट अन्तर्गत गोपनीयता सुरक्षाका लागि विशेष तालिम अनिवार्य गरिएको हुन्छ। डोज अधिकारीहरूले यस्तो तालिम लिएका छन् वा छैनन् भन्ने तत्काल प्रस्ट छैन ।
डोज ले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सडीसी ) लाई पनि सेवा अवधि एक वर्षभन्दा कम भएका कर्मचारीहरू र दुई–वर्षे परीक्षण अवधिमा रहेका कर्मचारीहरूको सूची उपलब्ध गराउन अनुरोध गरेको छ, अनुरोधबारे जानकार व्यक्तिहरूले बताएका छन्।
कङ्ग्रेसमा मस्कको शक्ति माथि चर्को बहस
बुधबार कङ्ग्रेसमा सांसदहरूले मस्कको शक्तिबारे चर्को बहस गरेका छन् । जुन हाउस ओभरसाइट कमिटी ले मस्कलाई बोलाउने उप–न्यायाधीशको प्रस्तावमा मतदान गर्नुअघि भएको थियो।
“को हुन् यी निर्वाचित नभएका अर्बपति, जसले संघीय एजेन्सीहरू विघटन गर्ने, कर्मचारीहरूलाई बर्खास्त गर्ने, सरुवा गर्ने, शीघ्र अवकाश दिने र कङ्ग्रेसको कुनै पनि समीक्षा वा अनुमोदनबिना व्यापक परिवर्तन गर्ने प्रयास गरिरहेका छन ?“ समितिका वरिष्ठ डेमोक्र्याट सदस्य गेरी कोनली (भर्जिनिया) ले प्रश्न गरेका थिए ।
तर समितिका अध्यक्ष जेम्स कोमर (रिपब्लिकन–केन्टुकी) ले भने, “यो प्रस्ताव बहसयोग्य होइन।“
मेलानी स्टान्सबरी (डेमोक्र्याट–न्यू मेक्सिको) ले भनिन्, “यो समितिले प्रस्तावलाई बहस गर्नसमेत अस्वीकार गर्नु लज्जास्पद छ।“सांसदहरू आपसमा बहस गर्न थालेपछि प्रस्तावलाई रोक्ने मतदानमा २०–१९ को नतिजा आएको थियो ।
वाशिंगटन पोष्ट ५ फेब्रुवरी ०२५ बाट
प्रतिक्रिया दिनुहोस्