लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधि भिडन्त म्यानमारसँग
काठमाडौँ, ८ फागुन । फरवार्ड सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा नेपाल घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको खेलमा लेवनानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो।
लेवनानको लगातार दोस्रो हारले म्यानमार पनि एक खेल अगावै फाइनलमा पुगेको छ। नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोल अन्तरले नै हराएको थियो। पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको लेवनान दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको हो। आजै भएको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० को फराकिलो अन्तरले हराएको थियो। जितसँगै अपराजित रहेका म्यानमार ६ अंकमा शीर्ष र समान अंक भएको नेपाल दोस्रो स्थानमा छ।
नेपालले अब अन्तिम खेलमा आइतबार म्यानमारविरुद्ध खेल्नेछ। फाइनल पुगिसकेका दुवै टोलीबीचको सो खेल फाइनल अघिको अभ्यास हुनेछ। सोही दिन लेवनान र कीर्गिस्तान भिड्नेछन्। यी दुवै टोली शान्त्वना जितका लागि मैदान उत्रनेछन्।
बिहिबार भएको खेलको ४२ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानका खेलाडीले क्लीयर गरेपनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहार लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो।
त्यसपछि नेपालले खेलमा थप गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन। खेलको इन्ज्युरी समयमा लेवनानकी ज्वाहा अरबीको प्रहार क्रसबारमा लाग्दै फर्कियो। खेलको ५६ औँ मिनेटमा प्रिती राईको फितलो प्रहार लेवनानकी गोलरक्षकको हातमा सहजै पुग्यो।
५८ औँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको प्रहार क्रसबारको माथिबाट आकाशियो। ७३ औँ मिनेटमा विमला चौधरीको कर्नरमा प्रिती राईको प्रहार आकाशियो।
त्यसअघि पहिलो हाफको आठौँ मिनेटमा क्रिष्टी मलौफको प्रहार नेपालकी गोलरक्षक एञ्जिाल तुम्बो सुब्बाले पन्च गर्दै जोगाईन्। दशौँ मिनेटमा विमला चौधरीको हेडर क्रसबारको माथिबाट आकाशियो। तेहौँ मिनेटमा लाला स्कन्दरको प्रहार पािलहे बारको नजिकबाट बाहिरियो। खेलको पन्धौँ मिनेटमा प्रिती राईको प्रहार क्रसबारको माथिबाट बाहिरियो। २२ औँ मिनेटमा रेखा पौडेलको ब्याक पासमा सावित्रा भण्डारीको प्रहार सेकेण्ड बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमाउन पुग्यो।
प्रतिक्रिया दिनुहोस्