काठमाडौं १८ फागुन । केपी ओली कपको उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने भएका छन् ।
दशरथ रङ्गशालामा हिजो भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४ गोलको फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । मच्छिन्द्रका स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ गोल गरे ।
अस्ति भएको पहिलो सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ ले हराउँदै आर्मी फाइनलमा पुगेको थियो । केपी ओली कपको फाइनल खेल भोलि हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आइपुग्ने भएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्