काठमाडौं ७ चैत । भारतले गाजामा इजरायलको जारी राखेको हमलाप्रति चिन्ता प्रकट गरेको छ।
भारतको विदेश मन्त्रालय विज्ञप्ति जारी गरी गाजाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हामी गाजाको अवस्थाप्रति चिन्तित छौँ। सबै बन्धक रिहा गर्नु महत्त्वपूर्ण छ। हामी गाजाका जनतासम्म मानवीय सहायता पुग्न दिन पनि माग गर्दछौँ।’
यही मार्च १८ मा इजरायलले गाजामा गरेको आक्रमण जनवरी १९ मा युद्धविराम सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण हो।
जसमा परी ४०० भन्दा बढी प्यालेस्टिनी मारिएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान आक्रमणको आदेश दिएका थिए।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार राति भिडिओ सार्वजनिक गर्दै हमासविरुद्ध यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन्।
आफ्नो बयानमा नेतन्याहुले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेकपटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन्।
हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण मार्च ३० रातिबाट सकिएको थियो।
त्यसपछि अमेरिकी प्रस्तावमा इजरायल युद्धविराम ६ हप्ता लम्ब्याउन सहमत भए पनि हमासले अस्वीकार गरेको थियो।
युद्धविराम अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।
पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
त्यसयता इजरायलले अहिले गाजामा पुनस् आक्रमण थालेको हो।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट यसअघिसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासले बताएको थियो। त्यसमा अब ४०० जना थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्