म्याग्दी, २४ चैत। धौलागिरि र मालिका गाउँपालिकामा यसवर्ष र दुई करोडभन्दा बढीको लागतमा सात झोलुङ्गे पुल निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, टिबीएसयु, गाउँपालिका र साझेदारी संस्था मिलन म्याग्दीको समन्वयमा मालिकामा चार र धौलागिरिमा तीन झोलुङ्गे पुल निर्माण शुरु भएको हो ।
धनमाने, जेल्टुङ र छहरी खोलामा कूल रु ९९ लाख २५ हजार ६५२ को लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण शुरु भएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।
अध्यक्ष पुनका अनुसार कूल लागतको छ प्रतिशत बराबरको रु पाँच लाख ९३ हजार गाउँपालिकाले सम्पुरक कोषबाट उपलब्ध गराउने भएको छ । मालीका गाउँपालीको टाक्से, नुन्थला, दोबिल्ला र दाङखोलामा एक करोड २२ लाख ७८ हजार २९८ रुपैयाको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।
झोलुङ्ग्गे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई आवत जावतमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । आगामी असार महिना भन्दा अगावै पुल सम्पन्न गर्ने लक्ष्य सहित उपभोक्ता समितिले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्