काठमाडौं — नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) मा विगतका वर्षहरूमा भएका उपकरण तथा सेवा खरिद प्रक्रियामा गम्भीर कानुनी त्रुटि, नियमविपरीत निर्णय र आर्थिक अनियमितता भएको निष्कर्षसहित गठित छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ।
‘नेपाल टेलिभिजनको डिजिटल ट्रान्समिटर, अडियो–भिजुअल र ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन र अनलाइन प्लेटफर्मको खरिदसम्बन्धी छानबिन समिति, २०८३’ ले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष प्रतिवेदन पेस गरेको हो।
डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय समितिले तयार पारेको प्रतिवेदनमा खरिद प्रक्रियामा नियमविपरीत निर्णय गरिएको, कानुनी मापदण्ड उल्लङ्घन भएको तथा संस्थामाथि अनधिकृत आर्थिक दायित्व सिर्जना गर्ने प्रकृतिका काम भएको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा ‘आर्काइभ डिजिटाइजेसन’ शीर्षकमा विनियोजित बजेटलाई पछिल्ला वर्षमा नियमविपरीत रूपमा अडियो–भिडियो उपकरण खरिदतर्फ स्थानान्तरण गरी खर्च गरिएको भेटिएको छ। सोही बजेटबाट लेटर अफ क्रेडिट (एलसी) खोलेर खरिद प्रक्रिया अघि बढाइएको पनि समितिले औँल्याएको छ।
त्यस्तै, मन्त्रालयको पूर्वस्वीकृति नलिई आन्तरिक स्रोतबाट चार करोड ८७ लाख रुपैयाँ विनियोजन गरी उपकरण खरिद गर्ने निर्णय गरिएको र त्यसबाट संस्थामाथि थप आर्थिक भार परेको प्रतिवेदनमा उल्लेख छ।
समितिले ग्राफिक्स प्रणाली खरिद प्रक्रियामा पनि गम्भीर कानुनी त्रुटि औँल्याएको छ। प्रतिवेदनमा प्राविधिक स्पेसिफिकेसनमा असफल भएको प्रस्तावलाई स्वीकृत गरिएको, ‘कन्सोर्टियम’ सम्बन्धी सर्त उल्लङ्घन गरिएको तथा खरिद सम्झौता सम्पन्न भइसकेपछि सम्झौतामा छेडछाड गर्दै सिङ्गापुरस्थित सोहेतो कम्पनीलाई एक पक्षका रूपमा समावेश गरिएको उल्लेख गरिएको छ।
छानबिन समितिले यस्ता कामकारबाही भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत अनुसन्धानयोग्य देखिएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १४(१) बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाउन सिफारिस गरेको छ।
प्रतिवेदनमा तत्कालीन खरिद प्रक्रियामाथि अनुसन्धानसँगै सार्वजनिक सेवा प्रसारण संस्थाको प्रसारण विकास मार्गचित्र पुनरावलोकन गर्न, खरिद प्रणालीलाई थप पारदर्शी बनाउन तथा स्वदेशी आपूर्तिकर्ताबीचको प्रतिस्पर्धालाई प्राथमिकता दिने नीतिगत व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्