बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदी क्षेत्रमा बेपत्ता भएका छन्। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली बुधबार साँझदेखि बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार साँझ करिब ६:३० बजे भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित दुलालेश्वर महादेव मन्दिर आसपासबाट उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि तत्काल खोजी अभियान सुरु गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा परिवारको स्वास्थ्यसम्बन्धी अवस्थासहित विभिन्न पक्षबारे जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको छ।
प्रहरी नायब उपरीक्षक विष्टका अनुसार घटनालगत्तै प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। साँझसम्म खोजी गर्दा दम्पती फेला नपरेपछि सशस्त्र प्रहरी बलको टोलीसमेत उद्धार तथा खोजी कार्यमा खटिएको छ।
प्रहरीले खोजी अभियानलाई निरन्तरता दिइएको तथा घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्