काठमाडौँ । निजी अस्पतालमा कार्यरत ३९ वर्षीय एक स्वास्थ्यकर्मी चार वर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित थिए। कहिले दुखाइ कम हुने र कहिले बढ्ने भएपछि उनले आफू कार्यरत अस्पतालमै हाडजोर्नी विशेषज्ञसँग जाँच गराए। चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्दै आएका उनले समस्या सामान्य ठानेर थप परीक्षण गराएनन्।
तर, वीर अस्पतालको युरोलोजी ओपिडीमा पुगेपछि उनको मिर्गौलामा मासु पलाएको पाइएको छ। चिकित्सकका अनुसार उक्त मासु कलेजोतर्फ समेत फैलिएको देखिएको छ। क्यान्सरको आशंका भएपछि थप परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइएको छ।
वीर अस्पतालका युरोलोजी विभागीय प्रमुख प्राडा रोविनबहादुर बस्नेतका अनुसार लामो समयदेखि देखिएको स्वास्थ्य समस्यालाई सामान्य ठानेर बेवास्ता गर्दा रोग पहिचानमा ढिलाइ हुन सक्छ।
सामान्य लक्षण बेवास्ता नगर्न चिकित्सकको सुझाव
स्वास्थ्यकर्मी भएर पनि चार वर्षसम्म ढाड दुखाइको औषधी सेवनमै सीमित हुनु र एकपटक पनि भिडियो एक्स–रेलगायत परीक्षण नगर्नु रोग पहिचानमा ढिलाइको कारण बनेको चिकित्सकको भनाइ छ।
वीर अस्पतालको युरोलोजी ओपिडीमा अर्का ७० वर्षीय पुरुष पनि पिसाबसम्बन्धी समस्या लिएर पुगेका थिए। उनलाई बारम्बार पिसाब लाग्ने, पिसाब लुगामै चुहिने र पिसाबको धारा कमजोर हुने समस्या थियो। पिसाब फेर्दा बल प्रयोग गर्नुपर्ने भएपछि अस्पताल पुगेका उनलाई परीक्षणपछि शल्यक्रिया आवश्यक रहेको चिकित्सकले बताएका थिए।
दैनिक चार सय बिरामी
वीर अस्पतालको युरोलोजी विभागमा दैनिक करिब चार सय बिरामी उपचारका लागि आउने गरेका छन्। विभागीय प्रमुख प्राडा बस्नेतका अनुसार तीमध्ये करिब २५० जना नयाँ बिरामी हुन्छन्।
ओपिडीमा आउने बिरामीमध्ये दैनिक करिब ८० जना प्रोस्टेटसम्बन्धी समस्या भएका हुन्छन्। मिर्गौलामा पत्थरी, मिर्गौलाको मुख बन्द हुने, मिर्गौला निकाल्नुपर्ने अवस्था, प्रोस्टेट क्यान्सर, पिसाबनली साँघुरिने तथा एड्रिनल ग्रन्थीसम्बन्धी समस्या भएका बिरामी पनि उपचारका लागि आउने गरेका छन्।
देशभरबाट जटिल अवस्थाका बिरामी रिफर भएर आउने वीर अस्पतालको युरोलोजी विभागमा बिरामीको चाप उच्च रहेको छ।
सेवा विस्तारमा जोड
डा. बस्नेतले बिरामीको चापसँगै जटिल रोगको उपचारको आवश्यकता पनि बढ्दै गएको भन्दै आवश्यक जनशक्ति, उपकरण, पूर्वाधार र शल्यक्रिया क्षमता थप सुदृढ गर्नुपर्ने बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा विवेक आचार्यले वीर अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। युरोलोजी विभागमा समेत सुधार भइरहेको र शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई सकेसम्म छिटो समय उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
बिरामीको चाप अत्यधिक रहेकाले सेवा विस्तारसँगै अस्पतालको व्यवस्थापन सुधारलाई समेत प्राथमिकता दिइएको उनको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्