पेरिस, फ्रान्स । नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन आइतबार पेरिसमा सम्पन्न भएको छ। अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
निवर्तमान सभापति सुधीर रानाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि लोकतान्त्रिक आन्दोलनका ज्ञात–अज्ञात सहिद तथा संस्थाका संस्थापक संरक्षक किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।
अधिवेशनमा केन्द्रीय निर्वाचन प्रतिनिधि ध्रुवराज पौडेल प्रमुख अतिथि तथा केन्द्रीय पर्यवेक्षक अंकील ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। निर्वाचन संयोजक सुवर्णविक्रम हमालको संयोजनमा संस्थाको विधानअनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति पूर्वमहामन्त्री तथा एनआरएनए फ्रान्सका पूर्वमहासचिव कमलबिक्रम केसी, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगाना, पत्रकार दीपक चालिसे, संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
संस्थापकबाट शुभकामना, निवर्तमान सभापतिद्वारा अनुभव हस्तान्तरण
अधिवेशनमा संस्थापक सभापति निर्मल अर्याल र संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङले शुभकामना तथा मार्गदर्शनमूलक मन्तव्य दिनुभएको थियो।
निवर्तमान सभापति सुधीर रानाले आफ्नो दुई कार्यकालको अनुभव सुनाउँदै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो।
नवनिर्वाचित सभापति शिवराम भण्डारीले संस्थालाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले फ्रान्समा रहेका नेपालीहरूको हितका लागि संस्थामार्फत निरन्तर र प्रभावकारी रूपमा काम गर्ने बताउनुभएको छ।
नयाँ कार्यसमिति
अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ :
- सभापति: शिवराम भण्डारी
- वरिष्ठ उपसभापति: कृष्ण गुरुङ
- उपसभापति: विकास केसी र सुजन राज भट्ट
- महामन्त्री: सुशिल भण्डारी
- सहमहामन्त्री: विवेक धमला
- कोषाध्यक्ष: दिपेन्द्र दाहाल
- सदस्य: सचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा
नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता
अधिवेशनले संस्थाको आगामी कार्यदिशासमेत तय गरेको छ। फ्रान्समा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै उनीहरूको सामाजिक, सांस्कृतिक तथा आर्थिक हित र विकासमा योगदान पुर्याउने उद्देश्यका साथ नयाँ कार्यसमितिले काम गर्ने जनाएको छ।
आयोजक समितिका सदस्यहरूका अनुसार अधिवेशनले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपालीको साझा हितका विषयमा काम गर्ने आधार तयार गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्