काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि काठमाडौंमा सुरु भएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै भृकुटीमण्डपमा एक्स्पो औपचारिक रूपमा सुरु भएको हो।
साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पो गत वर्षको तुलनामा अझ भव्य र विविधतापूर्ण हुने आयोजकले जनाएको छ। एक्स्पो संयोजक गौरव शारडाका अनुसार यसपटक चीनका राष्ट्रपतिले प्रयोग गर्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली बजारमा प्रदर्शनीमार्फत प्रस्तुत हुँदैछ।
एक्स्पोमा दर्जनौँ नयाँ विद्युतीय तथा हाइब्रिड सवारीसाधन सार्वजनिक हुँदैछन्। साना विद्युतीय कारदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्मका सवारी एउटै छानामुनि प्रदर्शनीमा राखिएका छन्।
आयोजकका अनुसार एक्स्पोमा ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुनेछन्। पछिल्लो समय नेपालमा तीव्र रूपमा विस्तार भइरहेको विद्युतीय सवारीको बजार, नयाँ अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेश तथा स्मार्ट प्रविधिमा आधारित सवारीसाधनलाई एक्स्पोले विशेष प्राथमिकता दिएको छ।
संयोजक शारडाले एक्स्पो केवल व्यापारिक प्रदर्शनी नभई नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूप र नयाँ शक्ति–सन्तुलन देखाउने महत्वपूर्ण मञ्च भएको बताए।
उनका अनुसार पेट्रोल तथा डिजेलमा आधारित सवारीबाट विद्युतीय र स्मार्ट प्रविधिमा आधारित सवारीतर्फ नेपाली बजार तीव्र रूपमा अघि बढिरहेको छ। ब्याट्री, सफ्टवेयर, स्वचालित प्रविधि र कनेक्टिभिटी आगामी दिनको मोबिलिटीका महत्वपूर्ण आधार बन्ने उनको भनाइ छ।
५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी
एक्स्पोमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुँदैछन्। आयोजकका अनुसार प्रदर्शनीमा २६ चारपांग्रे, १८ दुईपांग्रे र ८ व्यावसायिक सवारी ब्रान्ड सहभागी छन्।
एक्स्पोमा विद्युतीय कार, हाइब्रिड सवारी, इलेक्ट्रिक स्कुटर, मोटरसाइकल, व्यावसायिक सवारी तथा नयाँ पुस्ताका स्मार्ट मोबिलिटी प्रविधि प्रदर्शन गरिँदैछन्।
नाइमाका अनुसार चाडपर्वको मौसम नजिकिँदै गर्दा आयोजना गरिएको एक्स्पोले उपभोक्ता, व्यवसायी र अटोमोबाइल उद्योगका लागि विशेष महत्व राख्नेछ।
आयोजकले यसपटकको एक्स्पोलाई परम्परागत अटो शोभन्दा माथि उठाएर ‘मोबिलिटीको महाकुम्भ’ का रूपमा प्रस्तुत गरेको छ। विश्वका नयाँ ब्रान्डको प्रवेश, विद्युतीय सवारीको बढ्दो आकर्षण र स्मार्ट प्रविधिको विस्तारले नेपाली यातायात क्षेत्र नयाँ चरणमा प्रवेश गरिरहेको संकेत एक्स्पोले दिने आयोजकको दाबी छ।
भृकुटीमण्डपमा केही दिनसम्म चल्ने एक्स्पोमा उपभोक्ताले विभिन्न ब्रान्डका नयाँ सवारी, प्रविधि र मोबिलिटीसम्बन्धी उत्पादन तथा सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्