काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्ति–व्यक्तिलाई फोन गरेर ग्यास वितरण गरेको भन्दै आपत्ति जनाएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले मन्त्रीले आफ्नो विरोध गर्ने व्यक्तिलाई लक्षित गरेर ग्यास वितरण गरेको आरोप लगाइन्। उनले भनिन्, “हाम्रो उद्योगमन्त्री ग्यास बाँड्दै हिँड्नुभएको छ, ‘तपाईंको घरमा ग्यास छ ?’ भनेर सोध्दै हुनुहुन्छ।”
ग्यासका लागि सर्वसाधारण तातो घाममा लामो समयदेखि लाइनमा बस्नुपरेको उल्लेख गर्दै उनले मन्त्रीको काम व्यक्ति–व्यक्तिलाई ग्यास बाँड्दै हिँड्नु नभएको बताइन्।
‘राज्यको दया होइन, व्यवस्थापन चाहियो’
सांसद ओलीले व्यक्तिगत रूपमा सीमित व्यक्तिलाई ग्यास वितरण गरेर समस्या समाधान नहुने बताइन्। उनले भनिन्, “दया दिएजस्तो दुईचारजनालाई ग्यास बाँडेर बस्नुभएको छ। यो राज्यको दया होइन, व्यवस्थापन खोजेका हौँ।”
उनले लाखौँ उपभोक्तालाई व्यक्तिगत तवरबाट ग्यास वितरण सम्भव नरहेको भन्दै राज्य प्रणालीलाई कमजोर पार्ने काम गर्न नहुने बताइन्।
प्रधानमन्त्रीसँग स्पष्टीकरण माग
सांसद ओलीले सरकारको विरोध गर्ने व्यक्तिको घरमा ग्यास पुर्याउने मन्त्रीसँग प्रधानमन्त्रीले तत्काल स्पष्टीकरण माग्नुपर्ने बताइन्।
उनले भनिन्, “विरोधमा लेखेकाको घरमा ग्यास पुर्याएर बस्ने मन्त्रीजीलाई प्रधानमन्त्रीज्यूले तत्काल स्पष्टीकरण माग्नुपर्छ।”
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्