नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि आतंकको पर्याय बनेको जङ्गली हात्ती धुर्वे मान्छे मार्ने हिंस्रक जनावरका रूपमा परिचित छ । तर, यही धुर्वेको अर्को परिचय पनि छ—प्रेमिल र आत्मीय स्वभाव भएको भाले हात्ती ।
निकुञ्जमा रहेका पोथी हात्ती अर्थात् ढोईप्रति धुर्वेले देखाउने व्यवहारले उसको फरक स्वभाव उजागर गर्छ । हात्ती प्रजनन केन्द्रका विज्ञहरूका अनुसार धुर्वेले जङ्गली पोथी हात्तीसँग देखाउने प्रणयी व्यवहारकै कारण प्रजनन केन्द्रमा थुप्रै छावा जन्माउन योगदान पुगेको छ ।
निकुञ्जको बगई पोस्टमा रहेको नारायणी कलीलाई धुर्वेले २०७६ चैत ८ गते खुट्टामा बाँधिएको साङ्लो छिनाएर भगाएको थियो । तीन दिनसम्म उनीहरू जङ्गलमै सँगै रहे । त्यसपछि नारायणी कली चैत ११ गते पुनः आफ्नो पोस्टमा फर्किएकी थिइन् ।
हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मणिपुरन चौधरीका अनुसार धुर्वेले नारायणी कलीलगायत पोथी हात्तीसँग देखाएको प्रणयी व्यवहारले प्रजननमा समेत महत्त्वपूर्ण भूमिका खेलेको छ । उहाँका अनुसार लोकतन्त्र कलीबाट २०७५ फागुन ९ गते बुद्धबाबु, हिमाली कलीबाट २०७६ असोज ६ गते गोपालगन्जलगायत आठ वटा छावा प्रजनन केन्द्रमा जन्मिएका छन् ।
डरबाट आत्मीयतासम्म
चौधरीका अनुसार पोथी हात्तीलाई सहवासका लागि तयार गराउनु आफैँमा सहज प्रक्रिया होइन । सुरुमा पोथी हात्ती भालेदेखि डराउने र लजाउने गर्छे ।
“सुरुमा पोथी हात्ती डराउँछे, अनि लजाउँछे पनि । भालेले सुँडले आफ्नो गलामा मुसार्ने, गर्धनमा अँगालो हाल्ने र शरीरका विभिन्न भागमा छोएर फकाउँदा पनि ऊ सहवासका लागि तयार हुँदिन,” उहाँ भन्नुहुन्छ ।
उहाँका अनुसार पहिलो पटक भालेले बल प्रयोग गरेर सहवास गरेपछि भने पोथी हात्तीको व्यवहारमा परिवर्तन आउँछ । त्यसपछि पोथीले समेत भालेलाई सुँडले मुसार्ने र आत्मीय व्यवहार देखाउने गर्छे ।
चौधरीका अनुसार धुर्वेले जङ्गलमा आफ्ना ‘प्रेमिका’ पोथी हात्तीसँग गर्ने व्यवहार पनि यस्तै हुने गरेको छ ।
हिंस्रक बन्नुको कारण उमेर र ‘मात’
लामो समय चितवन राष्ट्रिय निकुञ्जमा काम गरेका पूर्व संरक्षण अधिकृत विष्णु थपलिया धुर्वेलाई ‘हिंस्रक मात्रै नभई प्रेमिल हात्ती’का रूपमा व्याख्या गर्नुहुन्छ ।
“हामीले यसलाई मान्छे मार्ने हिंस्रक हात्तीका रूपमा मात्रै हेरेका छौँ । यो हिंस्रक मात्रै छैन, प्रेमिल पनि छ,” उहाँ भन्नुहुन्छ ।
करिब ३५ वर्षको धुर्वे पहिलो पटक सन् २०५६ सालतिर चितवनमा देखिएको थियो । लामो समयदेखि चितवनकै वन क्षेत्रमा बस्दै आएको धुर्वे अहिले त्यहाँको रैथाने जङ्गली हात्तीसरह भइसकेको छ ।
नेपाल प्रकृति संरक्षण कोषका वन्यजन्तु विज्ञ किरण रिजालका अनुसार धुर्वेको आक्रामक व्यवहार उसको उमेर र जैविक अवस्थासँग पनि जोडिएको छ ।
“हामीले धुर्वेलाई चार–पाँच पटक रेडियो कलर जडान गरेर अनुगमन गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “भाले हात्ती सामान्यतया १८ देखि ४० वर्षको उमेरमा वयस्क, पुष्ट र बलियो अवस्थामा हुन्छन् । यही उमेरमा उनीहरूमा आक्रामकता पनि बढी देखिन्छ ।”
पूर्व संरक्षण अधिकृत थपलियाका अनुसार भाले हात्तीमा ‘मात’ लागेको अवस्थामा आक्रामकता अझ बढ्छ । हात्तीको कनचटबाट तरल पदार्थ बग्न थालेपछि यस्तो अवस्था पहिचान गर्न सकिन्छ ।
“हात्ती मात लागेको अवस्थामा त्यसबाट बच्नुपर्छ, त्यसको अगाडि पर्नु हुँदैन,” उहाँ भन्नुहुन्छ ।
२५ जनाको ज्यान लिएको आरोप
धुर्वेको प्रेमिल पक्ष जति रोचक छ, मानव–हात्ती द्वन्द्वमा उसको भूमिका भने उत्तिकै भयावह छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश मगरका अनुसार धुर्वेले हालसम्म २५ जनामाथि आक्रमण गरी ज्यान लिएको छ ।
पछिल्लो पटक गत असार २० गते भरतपुर महानगरपालिका–२३ की आशिका बोट र उनका छोरा भरत बोटमाथि धुर्वेले आक्रमण गरेको थियो । उक्त घटनामा आमा–छोराको ज्यान गएको थियो ।
हात्तीमै विद्यावारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार हात्तीले सामान्य अवस्थामा मानिसलाई लक्षित गरेर आक्रमण गर्दैन । तर, मानिस उसको बाटोमा परेमा वा आफूलाई खतरा महसुस गरेमा आक्रमण गर्न सक्छ ।
“धुर्वेको हकमा पनि उसले खानेकुराको खोजीमा पहिला घर भत्कायो । अनि सिधै अगाडि आमा–छोरा देखेपछि आक्रमण गरेको हुनुपर्छ,” उहाँ भन्नुहुन्छ ।
धुर्वे चितवन कसरी आइपुग्यो ?
धुर्वे कहाँबाट चितवन आइपुग्यो भन्ने यकिन प्रमाण छैन । तर, विज्ञहरू नेपालमा आउने अधिकांश जङ्गली हात्ती भारतबाट आउने बताउँछन् ।
डा. रामका अनुसार समूहमा बस्ने हात्तीहरू कुनै कारणले समूहबाट छुट्टिएर एक्लिएपछि नयाँ बासस्थान खोज्दै हिँड्छन् । यस क्रममा भारतबाट झापा हुँदै नेपाल प्रवेश गर्ने हात्तीहरू देशका विभिन्न भागसम्म पुग्ने गरेका छन् ।
तर, पूर्व संरक्षण अधिकृत थपलिया भने धुर्वे भारतबाट झापा हुँदै नभई वाल्मीकि टाइगर रिजर्भ हुँदै ठोरी नाका भएर चितवन प्रवेश गरेको हुनसक्ने बताउनुहुन्छ ।
संरक्षणका लागि ‘ज्वाइँ राजा’
चितवनमा अहिले करिब ५० देखि ५५ वटा जङ्गली हात्ती रहेको बताइएको छ ।
२०४२ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा हालसम्म ७३ वटा छावा जन्मिसकेका छन् । यी छावा जन्माउन धुर्वेजस्ता जङ्गली भाले हात्तीको भूमिका महत्त्वपूर्ण रहेको केन्द्रका अधिकारीहरू बताउँछन् ।
हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख चौधरी तिनै जङ्गली भाले हात्तीलाई ‘ज्वाइँ राजा’को संज्ञा दिनुहुन्छ ।
“धुर्वेजस्ता जङ्गली भाले हात्ती थिएनन् भने प्रजनन केन्द्रका ढोईलाई प्रजनन गराउन सजिलो थिएन,” उहाँ भन्नुहुन्छ ।
मानव बस्तीमा आतंक फैलाउने धुर्वे एउटा चुनौती हो । तर, त्यही धुर्वे हात्तीको प्रजनन र संरक्षणका लागि महत्त्वपूर्ण स्रोतसमेत बनेको छ ।
यसले धुर्वेको कथा केवल ‘मान्छे मार्ने हात्ती’को कथामा सीमित नरहेको देखाउँछ । उसको व्यवहारमा देखिने आक्रामकता र प्रेम, दुवै हात्तीको प्राकृतिक जीवनचक्र, उमेर, जैविक अवस्था र मानव–वन्यजन्तु सम्बन्धसँग जोडिएका छन् ।
त्यसैले धुर्वेलाई बुझ्ने चुनौती केवल उसबाट मानिसलाई जोगाउनु मात्र होइन, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै उसको जैविक भूमिका र संरक्षणमा रहेको योगदानलाई समेत सन्तुलित ढंगले बुझ्नु हो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्