काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोपेली सम्मेलन आयरल्यान्डको डब्लिनमा १५ बुँदे ‘डबलिन घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। १० र ११ अगस्टमा आयोजित सम्मेलनले गैरआवासीय नेपाली नागरिकता, लगानी, श्रम कूटनीति, महिला तथा युवा सहभागिता र दोस्रो पुस्ताको संलग्नतालाई प्राथमिकतामा राखेको छ।
‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा ३५ देशका करिब २ सय ५० प्रतिनिधि सहभागी भएका थिए।
घोषणापत्रमार्फत संविधानको धारा १४ अनुसार गैरआवासीय नेपाली नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। साथै, गैरआवासीय नेपालीसम्बन्धी विधेयक, २०८३ यथाशीघ्र पारित गरी कार्यान्वयन गर्न तथा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ मान्यताअनुसार वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न संवैधानिक व्यवस्था गर्न आग्रह गरिएको छ।
युरोपमा रहेका नेपालीको पुँजी, सीप, अनुभव र सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न तथा गैरआवासीय नेपाली लगानीका कानुनी र प्रशासनिक अवरोध हटाएर लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ।
त्यस्तै, नेपाली उत्पादन, पर्यटन, कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्धन गर्न ‘नेपाल हाउस’ लगायत संस्थागत माध्यमलाई सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ। विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षित तथा मर्यादित रोजगारी, सीप विकास, सामाजिक सुरक्षा र प्रभावकारी श्रम कूटनीतिमा पनि घोषणापत्रले जोड दिएको छ।
एनआरएनएको नेतृत्वमा महिला, युवा तथा दोस्रो पुस्ताको अर्थपूर्ण सहभागिता बढाउने र डायस्पोरामा रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक तथा उद्यमीको ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्न ‘नेपाली नलेज एन्ड स्किल नेटवर्क’ निर्माण गर्ने घोषणा पनि गरिएको छ।
सम्मेलनले आगामी जनवरीमा हुने चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा पहिलो र दोस्रो पुस्ता सम्मेलनलाई सफल बनाउन सहयोग र सहकार्यका लागि आह्वानसमेत गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्