इबाराकी, जापान । पश्चिमी दिशाबाट अघि बढिरहेको ‘चान–होम’ नामक चक्रवात बुधबार पूर्वी जापानको इबाराकी प्रान्तमा प्रवेश गरेको जापान मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ।
चक्रवात कमजोर भए पनि यसका कारण उत्तरपूर्वी तोहोकु क्षेत्र तथा टोकियोसहित कान्टो–कोसिन क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै नदीमा बाढी आउन सक्ने चेतावनी जारी गरिएको छ।
जेएमएका अनुसार ‘चान–होम’ यस वर्षको १५औँ टाइफुन हो। पूर्वबाट पश्चिमतर्फ सर्दै आएको चक्रवात इबाराकीमा प्रवेश गरेको हो। यसअघि टोकियोको उत्तरपूर्वमा रहेको इबाराकी प्रान्तमा यस प्रकारको चक्रवात देखिएको थिएन।
चक्रवातका कारण इवाटे प्रान्तमा दुई जना, इबाराकीमा चार जना र तोचिगीमा एक जनासहित सात जना घाइते भएको जापानको आगो तथा विपद् व्यवस्थापन विभागले जनाएको छ।
२४ घण्टामा १२० मिलिमिटरसम्म वर्षा
मौसमविद्का अनुसार तोहोकु, मध्य टोकाई तथा पश्चिमी किन्की क्षेत्रमा आगामी २४ घण्टामा १२० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
भारी वर्षाका कारण नदीको जलस्तर बढेर बाढी आउन सक्ने जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्