सिरहा । चर्को गर्मीका कारण कक्षाकोठामा बस्न समस्या भएको भन्दै सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।
कक्षाकोठामा पर्याप्त पङ्खा नभएको र गर्मीका कारण पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले विद्यालय प्रशासनसमक्ष लिखित निवेदन दिँदासमेत समस्या समाधान नभएको गुनासो गरेका छन्। विद्यालय प्रशासन र गाउँपालिकाको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि शान्तिपूर्ण आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।
विद्यार्थी धिरज यादवले चर्को गर्मीका कारण कक्षाकोठामा बसेर पढ्नै कठिन भएको बताए। उनका अनुसार समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।
विद्यार्थीहरूले कक्षाकोठामा तत्काल पर्याप्त पङ्खा जडान गर्नुपर्ने, विद्युत् व्यवस्थापन सुधार गर्नुपर्ने तथा गर्मीका कारण प्रभावित पठनपाठनलाई सहज बनाउनुपर्ने माग गरेका छन्।
त्यसैगरी, विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसकेको भन्दै विद्यार्थीहरूले तत्काल समिति गठन गर्नुपर्ने मागसमेत अघि सारेका छन्। व्यवस्थापन समिति नहुँदा विद्यालयका आधारभूत समस्या समाधानमा समेत असर परेको उनीहरूको भनाइ छ।
विद्यालयका प्रधानाध्यापक शैलेन्द्र यादवले विद्यार्थीको समस्यालाई गम्भीरतापूर्वक लिइएको बताए। विद्यार्थीबाट लिखित निवेदन प्राप्त भएपछि गाउँपालिका र शिक्षा शाखासँग समस्या समाधानका लागि समन्वय भइरहेको उनले जानकारी दिए।
उनका अनुसार विद्यार्थीको संख्या धेरै भएकाले गर्मीमा कक्षाकोठामा बस्न कठिन भएको छ। गाउँपालिका र शिक्षा शाखासँग समन्वय गरी दुई दिनभित्र पङ्खा जडान तथा आवश्यक व्यवस्थापन गर्ने प्रयास भइरहेको उनले बताए।
तर, विद्यार्थीहरूले भने तत्काल समस्या समाधान हुनुपर्ने अडान राखेका छन्। माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी उनीहरूले दिएका छन्।
गर्मी बढ्दै जाँदा कक्षाकोठाको तापक्रमले विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा असर पार्न सक्ने भएकाले विद्यालय तथा स्थानीय तहले तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने विद्यार्थीहरूको माग छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्