काठमाडौं । राष्ट्रिय पारालिम्पिक कमिटी नेपालले जापानमा हुने पाँचौँ एसियन पारा गेम्समा नेपाली खेलाडीको सहभागिता तथा तयारीका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
आगामी अक्टोबर १८ देखि २४ सम्म जापानको आइची–नागोयामा हुने एसियन पारा गेम्समा नेपालबाट १० खेलका ३५ खेलाडी तथा २९ प्रशिक्षक र अफिसियल सहभागी हुनेछन्।
प्रतियोगिताको तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको युवा तथा खेलकुद क्षेत्र र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ध्यानाकर्षण गराउन पारालिम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष केदारबाबु शिवाकोटीको नेतृत्वमा गएको टोलीले बुधबार खेलकुदमन्त्री सस्मित पोखरेल तथा राखेप सदस्यसचिव रामचन्द्र मेहतासँग भेट गरेको हो।
कमिटीका अनुसार अहिले नेपाली पारा खेलाडीले आफ्नै खर्चमा एसियन पारा गेम्सको तयारी गरिरहेका छन्। पर्याप्त सेवा–सुविधा र स्रोतको अभावमा तयारी प्रभावित भइरहेको भन्दै कमिटीले सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।
कमिटीले सबै पारा खेलाडीका लागि विशेष तथा बन्द प्रशिक्षणको व्यवस्था गर्न माग गरेको छ। त्यस्तै, पदकको सम्भावना भएका खेलका खेलाडीलाई विदेशमा विशेष प्रशिक्षणको अवसर उपलब्ध गराउनुपर्ने, आवश्यक खेल उपकरण तथा सामग्री उपलब्ध गराउनुपर्ने र खेल विज्ञानसम्बन्धी सहयोग गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियल तथा सहयोगीको हवाई टिकट, आवास, भोजन, यातायात, बिमा तथा अन्य आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्ने कमिटीको माग छ।
कमिटीले आर्थिक वर्ष २०८३/८४ को बजेटमा पारा खेलकुदका लागि विनियोजन गरिएको रकमसमेत वृद्धि गरी पर्याप्त बजेट सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्