बागलुङ । निरन्तरको वर्षाका कारण बडिगाड गाउँपालिका–५ जोगीबगरमा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ। बिहीबार साँझ परेको वर्षापछि स्थानीय लोकबहादुर थापाको घरमा पहिरो खसेको हो।
वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार पहिरोले घरमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन। घरमा थप क्षति पुग्ने जोखिम देखिएपछि थापा परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई छिमेकीको घरमा राखिएको आचार्यले जानकारी दिनुभयो।
लगातार वर्षा भइरहेकाले बडिगाड क्षेत्रमा पहिरो तथा बाढीको जोखिम बढेको गाउँपालिकाले जनाएको छ। ग्रामीण सडक तथा लोकमार्गसमेत जोखिमपूर्ण रहेकाले रातिको समयमा यात्रा नगर्न र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ।
जोखिमयुक्त क्षेत्रमा सतर्क रहन आग्रह
गाउँपालिकाले जारी गरेको सूचनामा लगातारको वर्षाका कारण विभिन्न सडकखण्ड जोखिममा रहेको जनाएको छ। पहिरो जान सक्ने सम्भावना भएका स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
गाउँपालिकाले वर्षा अझै जारी रहेकाले कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउनसमेत अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्