रुपन्देही । होटल व्यवसायी महासंघ नेपालले नेपाल आयल निगमले ग्यास सिलिन्डरको मौज्दातसम्बन्धी जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष टिआर भण्डारी (शंकर)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
निगमले बिहीबार जारी गरेको सूचनामा बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको भन्दै त्यस्तो मौज्दात नराख्न आग्रह गरेको थियो । मौज्दात रहेको ग्यास सम्बन्धित डिपोमार्फत सर्वसाधारणलाई बिक्री–वितरण गर्नसमेत निगमले अपिल गरेको थियो ।
महासंघका अध्यक्ष भण्डारीले व्यवसायको प्रकृति, आकार र दैनिक खपतको वास्तविकता नबुझी व्यावसायिक प्रयोजनका लागि राखिएको ग्यासलाई अनावश्यक सञ्चिति वा कालोबजारीसँग जोडेर हेर्नु स्वीकार्य नहुने बताउनुभएको छ ।
महासंघ कालोबजारी, कृत्रिम अभाव तथा गैरकानुनी गतिविधिको पक्षमा नरहेको स्पष्ट पार्दै उहाँले कानुनविपरीत कार्य गर्ने जोकोहीमाथि प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने बताउनुभएको छ ।
महासंघका महासचिव राजेश महोत्राले व्यवसायीको हकहित, सम्मान र व्यवसायको अस्तित्व संरक्षणका लागि आवश्यक परे शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।
महासंघले केही व्यवसायी वा घटनालाई आधार बनाएर समग्र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने, व्यवसायीलाई आतंकित बनाउने वा व्यवसायको प्रतिष्ठामा आँच पुग्ने वातावरण सिर्जना गर्ने कार्यप्रति कडा असहमति जनाएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्