रुपन्देही, । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका सम्बन्धमा यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि उहाँलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको संयुक्त इजलासले यादवले दायर गर्नुभएको रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै प्रहरीले उहाँलाई पक्राउ गर्न सक्ने भएको हो ।
प्रहरीले यादवविरुद्ध पक्राउ अनुमति माग गरेपछि नवलपरासी जिल्ला अदालतले साउन २० गते पक्राउ अनुमति दिएको थियो । त्यसपछि यादवले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
अदालतले विपक्षी प्रहरी कार्यालयबाट पेस भएको लिखित जवाफ तथा संलग्न कागजात अध्ययन गर्दै नियमबमोजिम गर्न आदेश दिएको हो ।
अदालतको आदेशअनुसार यादवलाई पक्राउ गर्न अनुमति माग्नुअघि इलाका प्रहरी कार्यालय बेलाटारीले प्रारम्भिक अनुसन्धान गरेको थियो । सो अनुसन्धानबाट प्राप्त कागजात तथा लिखित जवाफका आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ अनुमति मागेको थियो ।
यादवले इलाका प्रहरी कार्यालय बेलाटारीसहितका विपक्षीविरुद्ध पक्राउ पुर्जी रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।
रिट निवेदक यादवका तर्फबाट वरिष्ठ अधिवक्ताहरू धनजीव शर्मा, गोविन्दसिंह थापा, महेन्द्रप्रसाद पाण्डे, श्रद्धा सुमन आचार्य र सञ्जिता पौडेलले बहस गर्नुभएको थियो ।
विपक्षी प्रहरी कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता हिमानन्द गौतम तथा सोमितकुमार हलुवाईका तर्फबाट अधिवक्ता नसरुल्लाह अन्सारीले बहस गर्नुभएको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्