काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतमा पुनरावलोकनको प्रक्रिया समय लाग्ने भएकाले पार्टी एकताको पक्षमा आफूहरू अझै दृढ रहेको बताएका छन्।
शुक्रबार कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले आफूहरूले पार्टी विभाजन चाहेको भन्दै फैलाइएको भ्रमको खण्डन गरे। कांग्रेसको मूल भावना र विचारलाई जोगाउँदै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो।
महतले कांग्रेसको आधिकारिकता प्राप्त गरेको वर्तमान संरचनामा पार्टीको ‘आत्मा’ नरहेको टिप्पणी गरे। ‘कांग्रेसको आधिकारिकता अहिले जहाँ छ, त्यहाँ आत्मा छैन, शरीर मात्रै छ। आत्मालाई जबरजस्ती बाहिर धकेलेर निकालियो। त्यसैले आत्मासहितको कांग्रेस आवश्यक छ,’ उनले भने।
सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको उल्लेख गर्दै महतले अदालतको अन्तिम निर्णयपछि पार्टी एकताको आधार थप स्पष्ट हुने बताए।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई नै वैधानिक सभापति मान्दै देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गरिनुपर्ने धारणा दोहोर्याए। देउवाकै नेतृत्वमा कांग्रेसभित्र बृहत् एकता सम्भव हुने उनको भनाइ थियो।
महतले पार्टीभित्रको विवादलाई विभाजनतर्फ लैजानुभन्दा संवाद, सहमति र एकताको बाटोबाट समाधान गर्नुपर्नेमा जोड दिए। कांग्रेसलाई कमजोर हुन नदिन सबै पक्षले पार्टीको मूल विचार र भावनालाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्