रुकुमपश्चिम । लगातारको वर्षापछि आएको पहिरोले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा सञ्चालित युग इन्जिनियरिङ वर्कसप पुरिएको छ। पहिरोका कारण वर्कसपसहित त्यहाँ मर्मतका लागि राखिएका विभिन्न सवारीसाधन तथा उपकरणमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो सेरीगाउँमा खसेको पहिरोले स्थानीय धनबहादुर बिकले सञ्चालन गर्दै आएको वर्कसप पुरेको हो। प्रारम्भिक विवरणअनुसार घटनाबाट करोडौँ रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलका अनुसार मध्यपहाडी राजमार्गको छेउमा रहेको वर्कसपमा पहिरो खसेको हो। वर्कसपमा मर्मतका लागि ल्याएर पार्किङ गरिएका सवारीसाधनसमेत पहिरोले च्यापेर क्षति पुर्याएको छ।
पहिरोले धनबहादुर बिकको एकतले जस्तापाता र फलामबाट निर्माण गरिएको ट्रस्ट भवनमा क्षति पुर्याएको छ। वर्कसपभित्र रहेका मेसिन, उपकरण तथा अन्य सामग्रीसमेत पहिरोमा पुरिएका छन्।
त्यस्तै, स्थानीय पदम केसीका रा १ त ३७३६ र रा १ त ३६१७ नम्बरका दुईवटा ट्याक्टर पहिरोले च्यापिएका छन्। स्थानीय प्रविण डाँगीको बा १ क २५०६ नम्बरको रोलर, मिक्स्चर तथा स्काभेटरका दुईवटा बकेटसमेत पहिरोमा पुरिएका छन्।
वर्कसपमा मात्रै नभई पहिरोका कारण सेरीगाउँस्थित नयाँबस्तीका घरहरू पनि जोखिममा परेका छन्। प्रहरीले नयाँबस्तीका तीनवटा घर पहिरोको उच्च जोखिममा रहेको जनाएको छ।
स्थानीय बनिता मल्लको दुईतले आठकोठे पक्की घर, हरिबहादुर सुनारको एकतले दुईकोठे टिनले छाएको घर तथा हेमबहादुर पाण्डेको दुईतले छकोठे टिनले छाएको घर पहिरोको जोखिममा परेका छन्।
नयाँबस्तीमा करिब १५ घर रहेका छन्। पहिरोको जोखिम बढेपछि प्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा घरभित्र रहेका सामान सुरक्षित ठाउँमा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण थप पहिरो खस्न सक्ने जोखिम रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयको समन्वयमा घटनास्थलको अवस्था निरीक्षण तथा क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्