काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउने चर्चा निरर्थक भएको बताएका छन्। झापाको बिर्तामोडमा ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै ओलीले पार्टीको कार्यकर्ता पंक्ति आफूलाई हटाउने पक्षमा नरहेको दाबी गरे।
“सुन्छु म– अध्यक्ष हटाउनुपर्छ। कठै बरा। यस्तो बेलामा केही नलागेर अध्यक्ष हटाउने। घर गएर हटाउने? कहाँबाट हटाउने? कसले भनेर हटाउने? कार्यकर्ता पंक्ति त अध्यक्ष हटाउन तयार छैन। कसरी हटाउने?” ओलीले प्रश्न गरे।
उनले पार्टीभित्र अध्यक्ष हटाउने विषयमा अनावश्यक बहस नगर्न आग्रह गरे। अध्यक्ष हटाउने कुरा स्वार्थी र महत्त्वाकांक्षी व्यक्तिहरूको चाहना भएको दाबी गर्दै ओलीले यो अहिलेको परिस्थितिको माग नभएको बताए।
‘पार्टी पुनर्गठन होइन, पुनर्जागरण हुन्छ’
ओलीले पार्टीलाई एकताबद्ध बनाएर प्रतिक्रियावादी शक्तिविरुद्ध अघि बढ्नुपर्ने बताए। उनले पार्टीमा यसअघि तीनपटक पुनर्गठन गरिएको उल्लेख गर्दै अहिले पुनर्गठनको चर्चा चल्नुको औचित्यमाथि प्रश्न उठाए।
“पुनर्गठनको चर्चा चलिरहेको छ। पुनर्गठन भनेको के हो?” ओलीले भने, “अध्यक्ष हटाउने भन्ने एउटा कुरा छ नि, सडकछाप कुरा। यो कुरामा त म धेरै छलफल पनि गर्न चाहन्नँ।”
उनले पार्टी पुनर्गठन नहुने बरु पुनर्जागरण हुने बताए। पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा ओलीले जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्