काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी तथा विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए। वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिरहेको भए पनि श्रमिकका समस्या समाधानमा राज्य गम्भीर नभएको उनको आरोप छ।
‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै एक करोड पुग्न लागेको छ। तर, उनीहरू विदेशमा ठगिएका छन्, अलपत्र परेका छन् र सम्झौताअनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन्,’ शाहीले भने।
उनले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको संख्या भयावह रहेको उल्लेख गर्दै हालसम्म १६ हजार ७६० नेपालीको शव नेपाल ल्याइएको दाबी गरे।
जापानको उदाहरण दिँदै शाहीले पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए। वैदेशिक रोजगारी तथा अध्ययनका नाममा हुने ठगीका कारण नेपाली युवाले गम्भीर समस्या भोगिरहेको उनको भनाइ छ।
कन्सल्टेन्सी तथा विभिन्न गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा युवाबाट मोटो रकम असुल गरी विदेश पठाउने र त्यसपछि अलपत्र पार्ने गरेको शाहीको आरोप छ।
उनले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, विदेशमा अलपत्र नेपालीको अवस्था तथा श्रमिकको सुरक्षासम्बन्धी समस्याको समग्र अध्ययन गरी दोषीमाथि कारबाही र पीडितको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्