काठमाडौं । नेपाली कांग्रेसले संसद् तथा संसदीय समितिमा जनप्रतिनिधिको भाषा, व्यवहार र प्रस्तुति तथ्यमा आधारित, शिष्ट र संसदीय मर्यादाअनुकूल हुनुपर्ने जनाएको छ।
केन्द्रीय समितिको बैठकले संसद् तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति जनाएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले सबै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा र संसदीय संस्कार कायम राख्न आग्रह गरिएको बताए।
कांग्रेसले कार्यपालिकाको शासकीय अराजकता, व्यवस्थापिकाप्रति अनुत्तरदायी व्यवहार, संवैधानिक निकाय तथा न्यायपालिकामा अनावश्यक हस्तक्षेप र शक्ति पृथकीकरणको सीमाको उल्लङ्घन लोकतान्त्रिक शासनका लागि स्वीकार्य नहुने जनाएको छ।
संविधान संशोधनका विषयमा कांग्रेसले सर्वपक्षीय राजनीतिक संवाद र सहभागिताको आवश्यकता औँल्याएको छ। सरकार राजनीतिक छलफलविना गैरराजनीतिक समिति गठन गरेर अघि बढेको भन्दै कांग्रेसले संविधान संशोधनजस्तो गम्भीर विषयमा त्यसरी अघि बढ्दा अर्थपूर्ण छलफल हुन नसक्ने निष्कर्ष निकालेको छ।
प्रवक्ता चालिसेका अनुसार संविधान सुधारको प्रक्रियामा राजनीतिक संवाद आवश्यक रहेको कांग्रेसको अडान छ।
निजी क्षेत्रमाथि अनावश्यक धरपकड, गैरकानुनी खानतलासी र आतंकित पार्ने गतिविधि तत्काल रोक्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ। यस्ता गतिविधिले निजी क्षेत्रको मनोबल कमजोर बनाउनुका साथै मुलुकको आर्थिक प्रणालीमा समेत नकारात्मक प्रभाव पार्ने कांग्रेसको निष्कर्ष छ।
त्यस्तै, संविधानका आधारभूत मूल्यको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसले माग गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्