पर्वत । बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवर्द्धनका लागि कृषकलाई अनुदान र सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ।
गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘हल गोरु पाल्ने कृषकलाई अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र हल गोरु पाल्ने कृषकलाई प्रतिहल गोरु १० हजार रुपैयाँका दरले अनुदान दिइनेछ। यसका लागि गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
अनुदान लिन इच्छुक कृषकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनसँग निवेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि, बिमा पोलिसीको प्रतिलिपि तथा ट्यागसहितको हल गोरुको कलर फोटो पेस गर्नुपर्नेछ।
रीत नपुगेका वा तोकिएको म्याद नाघेर प्राप्त भएका आवेदन छनोटमा समावेश नगरिने गाउँपालिकाले जनाएको छ।
स्थानीय गाईलाई सुत्केरी भत्ता
गाउँपालिकाले स्थानीय तथा लोकल गाई संरक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि स्थानीय तथा लोकल बहरबाट ब्याएका लैनो गाई पाल्ने कृषकलाई सुत्केरी भत्ता उपलब्ध गराइनेछ।
कार्यक्रमका लागि गाउँपालिकाले १ लाख २५ हजार रुपैयाँ बजेट छुट्याएको छ। प्रत्येक सुत्केरी गाईका लागि २ हजार ५०० रुपैयाँका दरले भत्ता दिइनेछ।
भत्ता प्राप्त गर्न कृषकले निवेदन, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपि, सुत्केरी गाई र बाछा वा बाछीसहितको फोटो तथा नियमित खोप लगाएको खोप कार्डको प्रतिलिपि पेस गर्नुपर्नेछ।
परम्परागत कृषि प्रणाली संरक्षणमा जोड
गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले स्थानीय कृषि प्रणाली र पशुपालनको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
परम्परागत रूपमा कृषि कार्यमा प्रयोग हुँदै आएका हल गोरुको संरक्षणसँगै स्थानीय जातका गाईको संख्या बढाउन सके स्थानीय पशु सम्पदाको संरक्षण, कृषकको आम्दानी वृद्धि र कृषि प्रणालीको दिगोपनमा योगदान पुग्ने उनको भनाइ छ।
पछिल्लो समय कृषि क्षेत्रमा यान्त्रिकीकरण बढ्दै जाँदा हल गोरु पाल्ने कृषकको संख्या घटिरहेको अवस्थामा अनुदान कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ।
स्थानीय गाई संरक्षणका लागि दिइने सुत्केरी भत्ताले कृषकलाई स्थानीय गाई पाल्न प्रोत्साहित गर्नुका साथै स्थानीय पशु नस्ल संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष गुरुङले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्