बागलुङ (खर्वाङ) । निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा नौ घर तथा गोठ पूर्ण रूपमा क्षति भएका छन्। गत साउन २८ गते बिहान खसेको पहिरोबाट मानवीय क्षति नभए पनि वडाध्यक्ष कुविर विश्वकर्मासहित नौ परिवार प्रभावित भएका छन्।
पहिरोले पार्वती घर्तीको घर, गोठ र शौचालयसमेत पूर्ण रूपमा क्षति गरेको छ। पहिरो खसेपछि उनी बिरामी अवस्थामै छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी छन्। बिना योजना नयाँ सडक खोलिएका कारण पहिरोको जोखिम बढेको उनको गुनासो छ।
निसीखोला गाउँपालिका–२ को उपल्लोबेंग्री–जनप्रिय–बाँसखोला–काल्नेचौर सडकअन्तर्गत हाडिचारबाट आएको पहिरोले वडाध्यक्ष विश्वकर्माको घरसहित धाराटोलका नौ घर तथा गोठमा क्षति पुगेको हो।
पहिरोपछि जिल्ला विपद् व्यवस्थापन समिति, गाउँपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा धाराटोलका ४४ घर जोखिममा रहेको पाइएको छ। तीमध्ये १७ घर उच्च जोखिममा रहेको जनाइएको छ।
जोखिममा रहेका परिवार र वस्तुभाउलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो हटाउने कामसमेत सुरु गरिएको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए।
ठूलो चट्टानसहित थप पहिरो खस्ने जोखिम रहेकाले प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा बस्न माइकिङसमेत गरिरहेको छ। स्थानीय रत्नराज्य माध्यमिक विद्यालयलाई अस्थायी आश्रयस्थल तोकेर प्रहरी, सेना र प्राविधिकको सहयोगमा पहिरो व्यवस्थापन तथा प्रभावित परिवारको बसोबास व्यवस्थापन भइरहेको छ।
पहिरोबाट वडाध्यक्ष विश्वकर्मासहित धनबहादुर घर्ती, ताराबहादुर घर्ती, दीपक परियार, ज्ञानबहादुर परियार, राजन परियार, विरु घर्ती, देविराम घर्ती र यमकुमारी विकको घर पूर्ण रूपमा क्षति भएको वडा सदस्य तमबहादुर कुँवरले जानकारी दिए।
वडाले गाउँपालिकासँगको समन्वयमा पहिरो व्यवस्थापनको काम अघि बढाएको छ। पहिरो गएलगत्तै प्रभावित १५ घरधुरीलाई त्रिपाल वितरण गरिएको वडा सदस्य कुँवरले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्