जापानिज इन्सेफलाइटिसबाट ५८ संक्रमित, १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा मानिसको ज्यान जोखिममा पार्न सक्ने जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण बढ्दै गएको छ। पुषयतासम्म ५८ जनामा जेई संक्रमण पुष्टि भएकोमा १६ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये करिब २७ प्रतिशतको मृत्यु भएको हो।
जेई विशेषगरी तराईका जिल्लामा बढी देखिने गर्छ। संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले मस्तिष्कमा गम्भीर असर पार्न सक्छ। समयमै उपचार नपाए बिरामीको ज्यानसमेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका डा. अभियान गौतमका अनुसार कुखुरा, हाँस तथा सुँगुर पाल्ने र धान खेती हुने क्षेत्रमा जेईको जोखिम बढी हुन्छ। संक्रमण पुष्टि भएका केही बिरामीले जेईविरुद्धको खोप नलगाएको पाइएको उनले बताए।
जेईबाट बच्ने प्रभावकारी उपाय खोप भएकाले सरकारले नियमित खोप तालिकाअनुसार बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ। १२ महिनाको उमेरमा जेई खोप लगाउनुपर्ने र छुटेको अवस्थामा पाँच वर्षको उमेरसम्म लगाउन सकिने डा. गौतमले बताए। सरकारले यो खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।
क्युलेक्स प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट जेई भाइरस मानिसमा सर्छ। धान खेत, पानी जम्ने स्थान तथा पशुपक्षी पालिने क्षेत्र लामखुट्टेका लागि अनुकूल हुने भएकाले यस्ता स्थानमा जोखिम बढी हुन्छ।
जेई संक्रमणको सुरुआती अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमणले मस्तिष्कमा असर गरेमा उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, बेहोस हुने, मुर्छा पर्ने, झट्का आउने तथा चेतनामा परिवर्तन हुनेजस्ता गम्भीर लक्षण देखिन सक्छन्।
कम्युनिटी फिजिसियन डा. खिमा खत्रीले यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुर्याउन आग्रह गरेकी छन्। उच्च ज्वरोसँगै बेहोस हुने वा मुर्छा पर्ने अवस्था आए घरमै वा परम्परागत उपचारमा समय बिताउनु जोखिमपूर्ण हुने उनको भनाइ छ।
जेईबाट बच्न खोपसँगै लामखुट्टेको टोकाइबाट जोगिन पनि आवश्यक छ। स्वास्थ्यकर्मीहरूले झुल प्रयोग गर्ने, शरीर ढाकिने कपडा लगाउने, झ्याल–ढोकामा जाली राख्ने तथा घरवरपर पानी जम्न नदिने सुझाव दिएका छन्। विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारले बालबालिकालाई सुताउँदा झुलको प्रयोग गर्न र नियमित खोप छुट्न नदिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्