भोजपुर, भदौ ४ गते । विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन भएपछि भोजपुरका किसान व्यावसायिक कृषितर्फ आकर्षित हुन थालेका छन्। सिँचाइ पूर्वाधार, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग पाएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ उन्मुख भएका हुन्।
कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमबाट सुन्तला, अलैँची, तरकारी, खुर्सानीलगायत नगदे तथा व्यावसायिक बालीको क्षेत्र विस्तार हुँदै गएको छ। अनुदानसँगै प्राविधिक परामर्श र कृषि सामग्री उपलब्ध हुन थालेपछि नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउन किसानलाई थप प्रोत्साहन मिलेको छ।
अलैँची र सुन्तला खेती विस्तार
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गतको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गर्दै आएको छ। जिल्लाका नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडा यस कार्यक्रममा समेटिएका छन्।
त्यस्तै, सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडालाई समेटेर ‘सुन्तला जोन’ स्थापना गरिएको छ।
जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार किसानलाई अनुदानसँगै खेती प्रविधि, रोग तथा किरा नियन्त्रण, बगैँचा व्यवस्थापन, सिँचाइ, कृषि यान्त्रीकरण तथा बजारीकरणसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै विभिन्न शीर्षकमा १०९ जना किसानले अनुदान पाएका छन्।
“अनुदानसँगै किसानलाई आवश्यक प्राविधिक ज्ञान र प्रविधि उपलब्ध गराउँदा उत्पादनमा वृद्धि हुनुका साथै व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ,” प्रमुख विष्टले बताइन्।
१०० रोपनीमा तरकारी र खुर्सानी
कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमले पनि जिल्लामा व्यावसायिक कृषिको आधार विस्तार गर्न सहयोग गरेको छ।
यस कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका–५ की सङ्गीता श्रेष्ठले १०० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी तथा खुर्सानीखेती गर्दै आएकी छन्। उनको कृषि उद्यमका लागि कार्यालयले चार लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने ५० प्रतिशत लागत किसान आफैँले व्यहोरेकी छन्।
कृषिमा लगानी गर्न आवश्यक पुँजीको अभाव भएका किसानका लागि लागत साझेदारीमा प्राप्त हुने अनुदानले व्यवसाय विस्तार गर्न सहज भएको श्रेष्ठको भनाइ छ।
तरकारी तथा खुर्सानीबाट नियमित आम्दानी हुन थालेपछि अन्य किसान पनि व्यावसायिक उत्पादनतर्फ आकर्षित हुन थालेका छन्। सोही कार्यक्रममार्फत जिल्लाका अन्य पाँच कृषि फर्मलाई पनि चार–चार लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
सिँचाइ पुगेपछि सुन्तला बगैँचा विस्तार
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधानले पनि अनुदानबाट व्यावसायिक कृषि विस्तार गरेका छन्। कार्यालयबाट प्राप्त सहयोगबाट पक्की सिँचाइ पोखरी निर्माण गर्नुका साथै करिब २० रोपनी क्षेत्रमा ५०० सुन्तलाका बिरुवा रोपेका छन्।
“राज्यको अनुदानका कार्यक्रमले हामीजस्ता किसानलाई राहत मिलेको छ,” प्रधानले भने, “सिँचाइको व्यवस्था भएपछि बगैँचा विस्तार गर्न सहज भएको छ। पहिले पानीको अभावमा खेती विस्तार गर्न समस्या थियो। अहिले संरचना बनेपछि उत्पादन बढाउने लक्ष्यसहित काम गरिरहेको छु।”
भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले पनि सरकारी अनुदानका कार्यक्रमले किसानलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न टेवा पुगेको बताए।
“अनुदानमा सञ्चालन भएका कार्यक्रमले किसानलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न टेवा पुगेको छ,” उनले भने, “किसानले अनुदानको सदुपयोग गरेर उत्पादन र आम्दानी बढाउनेतर्फ ध्यान दिन आवश्यक छ।”
सिँचाइ र आधुनिक प्रविधिमा जोड
सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत गत आर्थिक वर्षमा ५४ जना किसानलाई अनुदान उपलब्ध गराइएको छ।
सिँचाइ सुविधा विस्तार भएपछि वर्षामा मात्रै निर्भर हुनुपर्ने अवस्था कम हुँदै गएको कार्यालयले जनाएको छ। पोखरी, पाइपलाइनलगायत संरचना निर्माणमा भएको सहयोगले किसानलाई तरकारी, सुन्तला, खुर्सानी तथा अन्य नगदेबालीतर्फ लाग्न सहज भएको छ।
अलैँची उत्पादनलाई गुणस्तरीय र व्यावसायिक बनाउन सुधारिएको आधुनिक अलैँची भट्टी निर्माण तथा जडान कार्यक्रमसमेत सञ्चालन गरिएको छ। गत आवमा यस कार्यक्रमअन्तर्गत ३० वटा आधुनिक अलैँची भट्टी वितरण गरिएको कार्यालयले जनाएको छ।
आधुनिक प्रविधिबाट अलैँची सुकाउँदा गुणस्तर कायम गर्न र उत्पादनको मूल्य बढाउन सहयोग पुग्ने किसानको भनाइ छ।
सुन्तला बगैँचा र नर्सरी विस्तार
सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान प्राप्त गरेका छन्। कार्यक्रमबाट सिँचाइ पोखरी निर्माण, सुन्तलाका बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रीकरणमा सहयोग गरिएको छ।
सुन्तलाखेतीका नयाँ क्षेत्र विस्तारसँगै पुराना बगैँचाको व्यवस्थापनमा समेत किसानलाई प्रोत्साहन गरिएको कार्यालयले जनाएको छ।
भोजपुरको मध्यपहाडी क्षेत्रमा सुन्तलाखेतीको सम्भावना रहेकाले गुणस्तरीय बिरुवा उत्पादन, बगैँचा व्यवस्थापन तथा रोग नियन्त्रणमा थप ध्यान दिनुपर्ने कृषि प्राविधिकको भनाइ छ।
कार्यालयले सुन्तला नर्सरी सुदृढीकरण, अलैँची नर्सरी स्रोत केन्द्र स्थापना, नमुना सुन्तला बगैँचा विकास, अलैँची बालीको छहारी व्यवस्थापन, कृषि यान्त्रीकरण तथा खाद्यतत्व सहयोगलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कोदोको बिस्कुटदेखि चक्लाबन्दी खेतीसम्म
कृषिजन्य तथा रैथाने बालीको प्रशोधन, लेबलिङ तथा बजारीकरण सहयोग कार्यक्रमले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयाससमेत गरेको छ।
रामप्रसादराई गाउँपालिका–६ मा रैथाने बालीअन्तर्गत कोदोको बिस्कुट उत्पादन सुरु गरिएको छ। स्थानीयस्तरमा उत्पादन हुने कोदोलाई प्रशोधन गरेर नयाँ परिकारका रूपमा बजारमा लैजान सकिने सम्भावना यसले देखाएको छ।
कोदो, फापर, मकै, कागुनोलगायत रैथाने बालीलाई आधुनिक प्रविधिबाट प्रशोधन, प्याकेजिङ तथा ब्रान्डिङ गर्न सके स्थानीय उत्पादनले जिल्लाबाहिर समेत बजार पाउन सक्ने सम्भावना रहेको छ।
यस्तै, चक्लाबन्दीमा आधारित खेती कार्यक्रमले पनि भोजपुरमा व्यावसायिक कृषि विस्तारको आधार तयार गरिरहेको छ। गत आवमा यस कार्यक्रममार्फत १०२ रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गरिएको छ। उक्त क्षेत्रमा ५५ हजार अलैँचीका बिरुवा रोपिएको कार्यालयले जनाएको छ।
छरिएर रहेको जमिनलाई एकीकृत गरी व्यावसायिक उत्पादन गर्न सके कृषि लागत घट्नुका साथै यान्त्रीकरणमा समेत सहज हुने भएकाले चक्लाबन्दी खेतीलाई थप विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्