बागलुङ । बागलुङ पश्चिमका स्थानीयवासीका लागि कुनै समय जिल्ला सदरमुकाम पुग्नु सहज थिएन। आफ्नै सदरमुकाम पुग्न तीन दिनभन्दा बढी समय लाग्थ्यो भने सवारीसाधनको उपलब्धता पनि न्यून थियो। अहिले भने गाउँगाउँमा मोटरबाटो विस्तार भएसँगै स्थानीयवासीको दैनिक जीवनमा उल्लेख्य परिवर्तन आएको छ।
बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनीमा गत वर्ष मात्रै मोटरबाटो पुगेको हो। सडक अझै पूर्ण रूपमा व्यवस्थित हुन बाँकी रहे पनि गाउँसम्म यातायात पुगेपछि स्थानीयवासी उत्साहित छन्।
बडिगाड–३ सिसाखानीका तिलक घर्तीमगर विगतमा नुन, तेललगायत दैनिक उपभोग्य सामग्री घोडा र खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था सम्झन्छन्। अहिले भने आफ्नै सवारीसाधनमार्फत घरसम्मै पुग्न सकिने भएको उनी बताउँछन्।
“एक समय थियो, जतिबेला नून, तेलसमेत घोडा वा खच्चडको भारीमा बोकेर ल्याउँथ्यौं। अहिले आफ्नै सवारी साधनबाट घरसम्मै आउन सकिन्छ,” घर्तीमगर भन्छन्, “पछिल्लो पाँच–सात वर्षमा धेरै परिवर्तन भएको छ।”
सडक बनेपछि विकासका ढोका खुले
स्थानीय तह गठनपछि गाउँमा विकास निर्माणका गतिविधिले गति लिएको स्थानीयवासीको अनुभव छ। उनीहरूका अनुसार सडक पूर्वाधार विस्तार भएपछि शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य सेवा गाउँसम्म पुर्याउन सहज भएको छ।
“विकासको पहिलो खुड्किलो नै सडक हो। बाटो पुगेपछि विस्तारै अरू कामहरू पनि हुने रहेछ,” घर्तीमगरले भने।
सडक पुगेपछि निर्माण सामग्री गाउँसम्म लैजान सहज भएको छ। विद्यालय निर्माणदेखि शिक्षक, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीको आवागमनसम्म सहज बनेको छ। यसले स्थानीयवासीलाई गाउँमै सरकारी सेवा प्राप्त गर्ने वातावरण निर्माण गरेको छ।
बडिगाड गाउँपालिकामा पछिल्लो तीन वर्षमा मात्रै १ हजार ५६ घरपरिवारका महिलाले सामूहिक तथा एकल व्यावसायिक कृषि र पशुपालन गर्दै आएका छन्।
प्राविधिक शिक्षाबाट स्वरोजगारको प्रयास
बडिगाड–२ खर्वाङस्थित त्रिभुवन माध्यमिक विद्यालयमा एक दशकदेखि बाली विज्ञानको पढाइ हुँदै आएको छ। अब विद्यालयलाई त्रिभुवन बहुप्राविधिक विद्यालयका रूपमा विकास गर्ने तयारी गरिएको प्रधानाध्यापक ढालमणि भण्डारीले बताए।
“युवाहरू कमाइको माध्यम खोज्न चाहन्छन्,” भण्डारी भन्छन्, “प्राविधिक शिक्षा पढेर जागिर खोज्नुभन्दा आफैँ स्वरोजगार बन्नेतर्फ ध्यान दिनुपर्छ।”
विद्यालयले अटोमोबाइल, इलेक्ट्रिक र इलेक्ट्रोनिक्सलगायतका सीपमूलक विषयमा तालिम तथा शिक्षा दिने योजना बनाएको छ। कृषि विषय अध्ययन गरेका विद्यार्थीसमेत स्थानीय तहमा कृषि प्राविधिकका रूपमा काम गरिरहेका छन्। यसले गाउँकै जनशक्तिलाई स्थानीय विकासमा परिचालन गर्ने अवसर सिर्जना गरेको छ।
विदेशबाट फर्केर गाउँमै उद्यम
बडिगाड–७ का जीवबहादुर खत्री तीन वर्ष दुबई बसेर स्वदेश फर्किए। विदेशमा कमाएको अनुभवपछि गाउँमै केही गर्ने सोच बनाएका उनले एक लाख रुपैयाँ लगानीबाट किबी खेती सुरु गरे।
किबीबाट आम्दानी सुरु नहुँदासम्म लगानी धान्न उनले अकबरे खुर्सानी पनि लगाए। एक रोपनीबाट सुरु भएको उनको व्यवसाय अहिले १६ लाख रुपैयाँ लगानीसहित ४० रोपनीमा विस्तार भएको छ।
खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने खत्रीको नौलाखर्क कृषि तथा पशुपन्छी फर्ममा प्रत्यक्ष रूपमा दुई जनासहित १२ जनाले रोजगारी पाएका छन्।
“विदेशको सफलता देखेर होइन, विदेशी दुःख सम्झेर आफ्नै गाउँमा खटिन सके नाम र दाम दुवै कमाउन सकिन्छ,” खत्री भन्छन्।
गाउँमै स्वास्थ्य सेवाको विस्तार
स्थानीय तह गठन हुनुअघि बडिगाड–१० का बासिन्दाले सामान्य उपचारका लागि समेत बुर्तिबाङ, बागलुङ वा बुटवल पुग्नुपर्ने अवस्था थियो। स्वास्थ्यकर्मी, औषधि र उपकरणको अभावमा समयमै उपचार पाउन कठिन थियो।
अहिले वडा तहमा आधारभूत स्वास्थ्य सेवा, निःशुल्क औषधि, खोप तथा मातृ–शिशु स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ।
बडिगाड आधारभूत अस्पतालमा डायलाइसिस सेवासमेत सुरु गर्ने तयारी गरिएको छ। १७ करोड १८ लाख ५३ हजार ८२ रुपैयाँको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएपछि थप सेवा विस्तार गर्ने योजना छ।
गाउँपालिकाले डायलाइसिस नर्सिङ तालिमका लागि नर्सलाई काठमाडौं पठाएको छ भने अस्पतालमा दुई जना मेडिकल अधिकृतसमेत पदपूर्ति गरिएको अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत अस्पताललाई १ करोड १ लाख ४४ हजार ८ सय रुपैयाँ बराबरका पाँचवटा डायलाइसिस मेसिन उपलब्ध भएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्