बागलुङ । मोबाइल फोनमा चर्को स्वरमा बोलेको विषयमा विवाद हुँदा आफ्नै साथीले चक्कु प्रहार गरेपछि बागलुङमा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ढोरपाटन नगरपालिका–७ घर भई हाल वडा नम्बर ५ मा बस्दै आएका ३६ वर्षीय अशोक खत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटना गत साउन २६ गते काठेखोला गाउँपालिका–३ माझकटेरामा भएको थियो।
प्रहरीका अनुसार काठेखोला गाउँपालिका–३ निवासी देवेन्द्र खत्रीको घरमा ओखरका बिरुवा रोप्न खाडल खन्न गएका क्रममा विवाद भएको थियो। सोही क्रममा ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीमगर र ३६ वर्षीय रिखे दमाईले खत्रीमाथि आक्रमण गरेको आरोप छ।
घटनाअघि तीनै जनाले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अशोकले मोबाइलमा चर्को स्वरमा कुरा गरेको विषयमा विवाद भएपछि अर्जुनले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार घाँटीमा गम्भीर चोट लागेका खत्रीको घटनास्थलमै मृत्यु भएको थियो।
“राति करिब पौने १० बजे घटनाको जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली खटाइएको थियो,” प्रहरी उपरीक्षक प्रसाईँले बताए, “घटनामा संलग्न दुवै जनालाई सोही रात पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।”
प्रहरीले घटनास्थलबाट चक्कु तथा रगत लागेको कपडासमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका घर्तीमगर र दमाईमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
मृतक खत्री साउन २० गतेदेखि घर्तीमगर र दमाईसँगै काम गर्दै आएका थिए। उनीबीचमा केही दिन घर गएर पुनः काममा फर्किएको बताइएको छ।
मृतक खत्रीकी श्रीमती तथा १२, ९ र ७ वर्ष उमेरका तीन छोरा रहेका छन्। गर्भवती पत्नी दिलमाया भण्डारीले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्