काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने दुई जनाले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेल संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
आक्रमणबाट गम्भीर घाइते भएका कालाथोकीलाई तत्काल मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो।
उपचारका क्रममा बोल्नसमेत नसक्ने अवस्थामा रहेका कालाथोकीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले शेखर यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अर्का आरोपी प्रमित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण तथा विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्