जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढी र पहिरोका कारण करिब ६० घरधुरी उच्च जोखिममा परेका छन्। सिर्प, डोग्रा तथा आसपासका बस्तीमा बाढी–पहिरोले जनजीवन प्रभावित भएको छ।
गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार सिर्क र सेती खोलामा आएको बाढीका कारण सिर्प र डोग्राका करिब ६० घर बस्नै नमिल्ने अवस्थामा पुगेका छन्। केही घरमा क्षतिसमेत पुगेको छ।
बाढी–पहिरोका कारण स्थानीयको आवतजावत प्रभावित हुनुका साथै खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको अध्यक्ष शाहीले बताए। उनका अनुसार बाढीले १५–१६ वटा पानीघट्टसमेत बगाएको छ।
यसैबीच, शुक्रबार डोग्रा खोलामा आएको बाढीमा परी ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका छन्। अविरल वर्षाका कारण शुक्रबार बिहान करिब २ बजे खोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न गएका सिंह बेपत्ता भएको अध्यक्ष शाहीले बताए।
यस्तै, सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापालाई सेती खोलाले बगाउँदा उनी पनि बेपत्ता भएकी छन्। दुवै जनाको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको जनाइएको छ।
वडाध्यक्ष लक्ष्मीदेवी शाहका अनुसार जोखिममा रहेका ६० घरधुरीका परिवारलाई सुरक्षित स्थानमा सार्न सकिएको छैन। प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पर्याप्त पुग्न सकेको छैन।
शुक्रबार दिनभर बेपत्ता दुई जनाको खोजी गरिए पनि सफलता नपाएपछि शनिबार सशस्त्र प्रहरीको टोली खोजीका लागि घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष शाहले जानकारी दिइन्।
बाढीका कारण सडक तथा बाटो अवरुद्ध हुँदा उद्धार तथा राहतमा थप समस्या भएको छ। नेटवर्क सेवा पनि बिहान र बेलुका मात्र सञ्चालन हुने भएकाले प्रभावित क्षेत्रबाट सूचना आदानप्रदान गर्न कठिनाइ भइरहेको वडाध्यक्ष शाहले बताइन्।
गाउँपालिका अध्यक्ष शाहीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि माथिल्लो निकायसँग समन्वय भइरहेको बताए। विपद् व्यवस्थापनसम्बन्धी बैठकसमेत बोलाउने तयारी भइरहेको उनले जानकारी दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्