काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।
१९९० सालको भूकम्पमा भत्किएको मन्दिर पञ्चायतकालमा ढलान गरेर पुनर्निर्माण गरिएको थियो। त्यसपछि २०७२ सालको विनाशकारी भूकम्पबाट पुनः क्षति पुगेपछि मन्दिरको पुनर्निर्माण गरिएको हो। पुनर्निर्माण सम्पन्न मन्दिरको शनिबार उद्घाटन गरिएको छ।
नित्यनाथलाई बाजागाजाका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले महानगर क्षेत्रभित्रका मूर्त तथा अमूर्त सम्पदाको संरक्षणका लागि काम भइरहेको बताइन्। उनका अनुसार हालसम्म ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिएको छ। भूकम्पबाट क्षतिग्रस्त अधिकांश सम्पदाको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन्।
काठमाडौँ–८ का वडाध्यक्ष एवं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले नित्यनाथ मन्दिरको पुनर्निर्माणले स्थानीय संस्कार, संस्कृति र बाजागाजाको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने बताए।
नेपाल धर्म, संस्कृति, चाडपर्व र जात्राका कारण चिनिने उल्लेख गर्दै उनले पशुपति क्षेत्रअन्तर्गतको ग्वल नवाली टोलका पुर्खाले जात्रा, पर्व तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले नित्यनाथ मन्दिर निर्माण गरेको बताए।
सन्ध्या पुस्तकालयका अध्यक्ष एवं नवाली टोल बाजा खलका कार्यवाहक अध्यक्ष शिवकुमार संगत तथा सचिव सुजन संगतले मन्दिर पुनर्निर्माणले संगीत संस्कृतिको पुस्तान्तरणमा सहयोग पुग्ने बताए। उनीहरूले दाफा भजन तथा लोपोन्मुख बाजागाजाको संरक्षणमा समेत मन्दिरले महत्वपूर्ण भूमिका खेल्ने बताए।
यसै टोलमा २०४२ सालमा स्थापना भएको पुस्तकालय पनि भूकम्पबाट क्षतिग्रस्त भएको जनाइएको छ। पुस्तकालयको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी रहेको बताइएको छ।
मन्दिर पुनर्निर्माणका लागि नक्सा तथा डिजाइनमा सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगरको सम्पदा विभाग प्रमुख कुमारी राई तथा पुनर्निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने वडाध्यक्ष आशामान संगतलाई कार्यक्रममा सम्मान गरिएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्