मुस्ताङ। प्रधानमन्त्री बालेन्द्र शाहले पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार निजी भ्रमणका क्रममा मुस्ताङ पुग्नुभएका प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन गर्नुभएको हो।
शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह बेनी–जोमसोम सडकमार्ग हुँदै शनिबार दिउँसो करिब ३ बजे जोमसोम आइपुग्नुभएको थियो। उहाँ घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ एयरपोर्ट नजिक रहेको होटल ओम्स होममा बस्नुभएको छ।
होटलमा केही समय आराम गरेपछि प्रधानमन्त्री शाह मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी पुनः जोमसोम फर्किनुभएको हो।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार प्रधानमन्त्री शाह साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको थियो। उहाँ करिब आधा घण्टा मन्दिर परिसरमा रहनुभएको र साँझ ८ बजेसम्म पूजाअर्चना गर्नुभएको बताइएको छ।
प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण निजी रहेको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्