काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुसार पार्टीले भदौ महिनादेखि सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री गुरुङले सोमबार भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका हुन्।
रास्वपाका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष राख्न सक्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।
कार्यक्रम सोमबार साँझ ५ बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।
रास्वपाले कार्यक्रममार्फत प्राप्त सुझावले नीति निर्माणमा सहयोग पुग्ने तथा सरकार र जनताबीचको सहकार्य थप मजबुत हुने विश्वास व्यक्त गरेको छ। पार्टीले कार्यक्रममा सहभागी भई आफ्ना गुनासा, सुझाव तथा अपेक्षा राख्न नागरिकलाई अनुरोधसमेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्